×

चितवन । सवारी दुर्घटना हुनुमा मानवीय हेलचेक्राई नै मुख्य कारण रहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख एस पी शान्तिराज कोईरालाले बताउँनुभएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय संगको समन्वयमा रेडियो त्रिवेणी १००.६ ले शनिबार सञ्चालन गरेको ‘सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नागरिक स्तरमा उत्तरदायीत्वको बोध हुनु पर्ने कुरालाई जोड दिनुभयो । “कमजोरी ट्राफिक प्रहरीका पनि छन् तर बुझीबुझी पनि नियम उल्लङ्घन गर्ने सबैको बानी भईसकेकाले समस्या समाधानमा कठिनाई भईरहेको छ ।” उहाँले भन्नुभयो । उहाँले ट्राफिक ब्यवस्थापनका निम्ति कानुनको कडाईका साथ पालना गरी कमजोरी गर्नेहरुलाई दण्डित गर्नुको बिकल्प नभएको बताउँनुभएको छ ।

रेडियो त्रिवेणीको परिसर भरतपुर ११ मा बिहान ८ बजेदेखि करिब १० बजे सम्म सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तेज नारायण खरेलले गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष खरेलले अन्तरक्रिया कार्यक्रममा उठेका विषयहरु ज्यादै महत्वपुर्ण रहेको भन्दै हरेक ब्यक्ति ब्यक्तिले आँफु ट्राफिक प्रहरी हुँ भन्ने ठानेर जिम्मेवार बने मात्रै ब्यबस्थापन सहज हुने बताउँनु भयो । बिगत १३ वर्ष देखि निरन्तर सुचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरुका अलवा समयानुकुल सामाजिक विषयहरुलाई उठान गर्ने क्रमकै निरन्तरता स्वरुप कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै भरतपुर ३ का वडाध्यक्ष चन्द्र मित्र पण्डितले महानगरपालिकाले पटक पटक पार्किङको समस्या समाधानका निम्ति पहल गरिरहेको बताउँनुभयो । महानगरले नारायणगढ बजार आसपासका ठाउँहरुमा ब्यक्तिको जग्गा भाडामा लिएरै पनि सार्बजनिक पार्किङ स्थल बनाएको भएपनि बाटोमै गाडी रोक्ने तर सम्बन्धित ठाउँमा पार्किङ नगर्ने प्रबृत्तीले गर्दा ट्राफिक जामको समस्या हल गर्न नसकिएको तर्क अघि सार्नुभएको छ ।

रेडियोका समाचार शाखा प्रमुख हेमराज रिमालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रबन्ध निर्देशक सुदिपसिंह अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्नुभएको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका नायब निरिक्षक बिकल भट्टराईले जिल्लामा ट्राफिक ब्यवस्थापनको चुनौती तथा दुर्घटनाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा तालिम विभाग प्रमुख कृष्ण गिरी, सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर धिरज ढकाल, संयुक्त रुट ब्यवस्थापन समिती चितवनका संयोजक चिनी बहादुर बोहोरा, रेडियो त्रिवेणीका निर्देशक प्रकाश पौडेल, हिमालय आधारभुत विद्यालय जागृती चोकका प्रधानाध्यापक नहेन्द्र खड्का, रेडियो त्रिवेणीका बरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अबिरल, चितवनपाटीका सम्पादक सबिन न्यौपाने लगायतले आँफुहरुले प्रतिनिधित्व गरेका संस्था तथा निकायको भुमिकाबारे बोल्नु भएको थियो ।

कार्यक्रममा चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष तथा सफल मोटर्स भरतपुरका संचालक एवं समाजसेवी श्री गोपाल भट्टराईलाई रेडियो त्रिवेणीको स्थापना कालदेखि प्राप्त साथ र सहयोगका निम्ति सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया