चितवन । कोरोनाको नाममा मजदुरहरुलाई कसैले तलमाथि गर्न खोजे पार्टी चुप लागेर नबस्ने नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताउनुभएको छ ।
युनियन कांग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई सञ्चालन गरेको एक दिने श्रम मापदण्डबारेको आधारभुत ट्रेड युनियन शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार राख्नु भएको हो । कोरोनाको नाममा विभिन्न उद्योग तथा प्रतिष्ठानले मजदूरहरुलाई अपमान गरेको तथा जागिरबाट निकालेको भन्ने विषयलाई लक्षित गर्दै यदि तलमाथि गरे आफू र पार्टी चुप नलाग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उहाँले कार्यस्थलमा खटिएका श्रमजीवीहरुले स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्न निर्देशन दिँदै सोको सम्पूर्ण व्यवस्था सञ्चालकले गनुपर्ने बताउनुभयो । कोरोनाले दिएको कष्ट र भयबाट उम्कन सकारात्मक सोच र तनाव व्यवस्थापननै अचुक अस्त्र भएको उहाँले बताउनुभयो ।
भैतिक दूरी कायम गर्दै सम्पन्न गरिएको सो अभिमुखीकरण कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न संघसंस्थाका २५ जना सदस्यको उपस्थिति रहेको थियो । सहभागीलाई कोभिड–१९ ले रोजगारीलगायत श्रम बजारमा पारेकोे प्रभाव र समाधानको उपाय, संस्थाको वर्तमान सांगठनिक संरचना, असंगठित क्षेत्रका चुनौती र सम्भावना साथै अर्थव्यवस्थालगायतका विषयमा नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेश अध्यक्ष धनश्याम चापागाई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र सचिव रमेश खनालले सहजीकरण गर्नुभएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेस चितवनका पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य बैगुण्ठराज पौडेल, नेपाली कांग्रेसका नेता धनबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।