×

चितवन ।भरतपुर विमानस्थलमा आजदेखि आन्तरिक उडान शुरु भएको छ । गएको चैत ११ गतेदेखि बन्द भएको उडान आजदेखि शुरु भएको हो । यहाँबाट यती एयरलाइन्स र बुद्ध एयरले उडान शुरु गरेका हुन् ।

आज दुवै एयरलाइन्सले दुई÷दुई वटा उडान भर्दैछन् । बुद्ध एयरले बिहान ११ः१० र ३ः४० बजे उडान भर्ने जनाएको छ भने यती एयरलाइन्स बिहान १०ः५० र २ः२५ बजे उडान भर्नेछ । ६ महिनापछिको पहिलो दिन भएकाले दुवै एयरलाइन्सले चालक दलमा दुई जना क्याप्टेन राखेर जहाज उडान शुरु गरेका हुन् ।

विमानस्थलमा असार ३० गते तारा एयरले चार्टर उडान गरेको थियो । लकडाउन अघि दैनिक पाँच वटा बुद्धले र तीन वटा यतीले उडान भर्दै आएका थिए । दुवै एयरलाइन्सले एउटा उडान पोखरा र चितवन गरेका थिए भने अन्य काठमाडौँबाट चितवन गरेका थिए । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख योज्ञेन्द्र कुँवरले सुरक्षा कार्यविधि पूर्णरुपमा अपनाएर उडान शुरु गरिएको बताउनुभयो ।रासस

तपाईको प्रतिक्रिया