Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भारत। भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक पुरुषले लगातार छैटौंपटक पनि छोरी जन्माउने आशंकामा आफ्नी पत्नीमाथि आक्रमण गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार पन्नालाल नाम गरेका ४३ वर्षीय पुरुषले आफ्नी पत्नी अनितादेवीको पेट हँसियाले काटिदिएका हुन् । पण्डितले उनकी श्रीमतीले छैटौंपटक पनि छोरी जन्माउने भविष्यवाणी गरेपछि पेटमा रहेको शिशुको लिङ्ग पहिचानका लागि पन्नालालले श्रीमतीमाथि आक्रमण गरेका हुन् ।

आक्रमणबाट घाइते भएकी अनितादेवीको अहिले दिल्लीस्थित एक अस्पतालमा उपचार भइरहेको छ । बदायूंका वरिष्ठ अधिरक्षक संकल्प शर्माले बीबीसीलाई दिएको जानकारी अनुसार महिलाका भाइले प्रहरीमा दिएको उजुरीको आधारमा पन्नालाललाई गिरफ्तार गरिएको छ । उनीमाथि हत्याको प्रयासमा मुद्दा दायर गरिएको छ ।

पन्नालालकी बहिनी रेखाका अनुसार पन्नालाल पुनः छोरी जन्मेको हेर्न चाहँदैनथे । उनका अनुसार उनीहरुको बीचमा यस विषयमा झगडा हुँदै आएको थियो । पन्नालालले यसै विषयलाई लिएर पत्नीलाई कुटपिट गर्दै आएका थिए। शनिबार पनि उनले पत्नीलाई कुटपिटपछि हँसियाले आक्रमण गरेको रेखाको भनाइ छ ।

आक्रमणपछि अनिताको स्वास्थ्य अवस्था अहिले नाजुक अवस्थामा रहेको बताइएको छ । यद्यपि उनको पेटको बच्चालाई भने केही नभएको बताइएको छ । अनिताका भाइले पनि अनिताका पतिले उनलाई निरन्तर कुटपिट गर्दै आएको बताएका छन् ।

उनले आफ्नो परिवारले पनि उनलाई धेरैपटक यस्तो कार्य गर्नबाट रोकेको भए पनि उनी यो हदसम्म जान सक्छन् भने आफूहरुलाई नलागेको उनको भनाइ छ । हिरासतमा रहेका पन्नालालले भने आरोप लगाइएअनुसारको आफ्नो मनसाय नरहेको बताएका छन् ।

उनले झगडाको क्रममा आवेशमा आएर पत्नीमाथि आक्रमण गरेको तर उनको अवस्था यस्तो होला भनेर नसोचेको बताएका छन् । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया