चितवन । यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्य सामाग्री सहयोग गरेको हो । छात्रावासलाई १५ हजार बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामाग्रीहरुको सहयोग गरिएको ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए । उक्त सामाग्री ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ग्रुपका संरक्षक तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोगका लागि आयोजकलाई धन्यवाद दिए ।
डा. अधिकारीले कोरोनाका कारण सम्पूर्ण गतिविधि ठप्प रहदा समस्यामा परेका यस्ता संस्थाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए । ग्रुपका अध्यक्ष कृष्ण कार्कीले कोरोनाले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई सहयोग गरिएको बताए । छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्य अभाव नहोस् भन्ने उद्धेश्यका साथ सहयोग गरिएको उनले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने उनले बताए ।
क्लबका सल्लाहकार सुशील केसीले कोरोना र लकडाउनका कारण धेरै यस्ता संस्थाहरु समस्यामा परेको हुन सक्ने भन्दै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे । छात्रावासमा २० जना बालिकाहरु आश्रित छन् । भरतपुरका युवाहरुको समुह यात्रा ग्रुपले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।