×

काठमाडाैं ।  अंग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय अन्तर्गत एफ. फिल. द्वितीय सेमेस्टरका विद्यार्थीहरूको तीन दिने ग्राजुयट कन्फरेन्स अन्तर्गतको उद्घाटन समारोह (बिहिवार )आज सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय एमफिल तहमा अंग्रेजी विषयको कक्षा बैसाख २१ गतेदेखि जुम मार्फत संचालन गरिएको थियो। जुमको भर्चुअल स्पेसमा भैरहेको सो सम्मेलनमा बिहिवार १३ वटा कार्यपत्र प्रस्तुत भएका छन् भने बाँकी २१ वटा कार्यपत्र शुक्रवार र शनिवार गरिने गरि तय गरिएको छ ।
कार्यक्रममको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै सम्मेलन आयोजक डा. कोमल फुयालले मानव केन्द्रीत विधाको अध्ययन अध्यायपनमा आएको ह्रासलाई पश्चिमी जगतको १९७० को दशकको प्रभावको रूपमा प्रष्ट्रयाउँदै बर्तमान युगमा मानवको हस्तक्षेपकारी भूमिका कसरी प्रभावकारी हुन्छ भन्ने कुरा सम्मेलनको मुख्य उदेश्य रहेकोे बताउनु भएको थियो ।


अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा. जीवलाल सापकोटाले सभापतित्व गर्नु भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य डा. तारालाल श्रेष्ठले दिनु भएको थियो । सो उद्घाटन सत्रमा प्रा.डा. भूप प्रसाद धमला, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. अनिरूद्ध थापा, प्रा.डा. अनिता ढुंगेल, प्रा. डा. सुस्मिता तालुकदार तथा प्रा.डा. ध्रुब कार्कीले आफ्नो मन्तव्य दिनु भएको थियो। प्रा.डा. धमलाले विश्वविद्यालयको इतिहासमा पहिलोपल्ट गरिएको यस्तो सम्मेलनको गहन अर्थ हुने र यसलाई भविष्यमा निरन्तरता दिनु पर्ने कुरा बताउनु भएको थियो । उद्घाटन सत्रलाई समापन गर्दै विभागीय प्रमुख प्रा.डा. सापकोटाले अंग्रेजी विभागले सिर्जनशील र बौद्धिक कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। मन्तव्यको क्रममा उपस्थित प्राध्यापकहरूले कार्यक्रमको सफलताको लागि शुभेच्छा व्यक्त गर्नु भयो । एमफिल तहमा अध्ययनरत केशव लम्साल, योगराज लामिछाने, मौसमी नेपाल, दिपक लुंगेली मगर र प्रतिभा पण्डितले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया