×

चितवन,भदौं ६-

दैनिकरूपमा कोरोना संक्रमित थपिदै गएपछि जिल्ला स्तरीय कोभिड–१९ प्राविधिक समिति गठन गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले प्राविधिक समिति गठन गरेको हो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यसचिवमा स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी रहनुभएको छ । समितिका सदस्यमा चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहादुर सेढाईँ, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कँुवर, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री हरि पौडेल रहनुभएको छ ।

त्यसैगरी भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदी, नर्सिङ सङ्घका अध्यक्ष माया पाण्डे, चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल र पुरानो मेडिकल कलेजका डा प्रिया पाठक सदस्य रहनुभएको छ । सदस्यसचिव तिवारीका अनुसार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार कोरोनाका बिरामीको उपचारमा आवश्यक प्राविधिक सहयोग गर्ने छ ।

लक्षण देखिएका बिरामीलाई अस्पतालमा र अन्यलाई स्थानीय तहको आइसोलेसनमा राख्न आवश्यक प्राविधिक सहयोग समितिले गर्नेछ । मन्त्रालयको निर्देशनअनुसार निजी अस्पतालमा क्षमताको २० प्रतिशत कोभिडका बिरामीको उपचारका लागि आवश्यक समन्वय समितिले गर्ने तिवारीले जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्देशनअनुसार आवश्यक प्राविधिक काम समितिले गर्ने जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया