गैँडाकोट- रसुवाको केरुङ हुँदै आएको भीषण विनाशकारी बाढीबाट विस्थापित तथा प्रभावित मानव सहयोगका लागि गैँडाकोटमा ६८,७५० रुपैयाँ आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।
कुसुम नगर टोल विकास संस्था र कुसुम नगर महिला समूहको संयुक्त आयोजनामा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा उक्त रकम जुटाइएको हो। संकलित ६८,७५० (अक्षरूपी अठसठ्ठी हजार सात सय पचास रूपैयाँ) विपद्मा परेका नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको आयोजक संस्थाले जनाएको छ।
गत भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिकाबीच पीडितहरूको घाउमा मलम लगाउने उद्देश्यले टोलका बुबा-आमा, दाजुभाइ, दिदीबहिनी तथा महिला समूहका सदस्यहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग जुटाएका हुन्।
विपत्को यस कठिन परिस्थितिमा मानवताको भावनासहित आर्थिक तथा नैतिक सहयोग पुर्याउनुहुने सम्पूर्ण टोलवासी र महिला समूहलाई आयोजक संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, सोही बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।



उज्यालो खबर

