×

चितवन । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पूर्वी चितवनकै पहिलो बीबीए कलेज, जीएसटी कलेजले प्लस टु उत्तीर्ण गरेका तथा नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि ‘लन्चप्याड २.०’ कार्यक्रम आयोजना गर्ने भएको छ। सोमबार आयोजित एक पत्रकार सम्मेलनमार्फत कलेजले उक्त जानकारी दिएको हो।

कलेजका अनुसार यो विशेष कार्यक्रम यही श्रावण १० गते बिहान ११ बजे रत्ननगर–१, निपनीस्थित होटल स्टार चितवनमा सञ्चालन हुनेछ। यस वर्षको कार्यक्रमको मुख्य नारा (थिम) ‘फ्रम ब्रेन ड्रेन टु ब्रेन गेन : द राइज अफ जेन–जी इन नेपाल’ तय गरिएको छ। कार्यक्रममा पूर्वी चितवनका शिक्षा क्षेत्रका स्थापित एवं अनुभवी व्यक्तित्वहरूबीच नेपालमै गुणस्तरीय शिक्षाको अवस्था, युवाहरूको भविष्य र स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्ने विषयमा बृहत् प्यानल छलफल हुनेछ।

पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख राजकुमार दाहालले ‘लन्चप्याड’ केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई विद्यार्थीहरूको आन्तरिक क्षमता र करियरलाई नयाँ उचाइमा पुर्‍याउने एउटा विशेष अभियान भएको बताए। यसले विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि सही र वस्तुनिष्ठ निर्णय लिन मार्गनिर्देशन गर्ने उनको भनाइ थियो। कार्यक्रममा शैक्षिक परामर्श (काउन्सिलिङ) का साथै विद्यार्थीहरूका लागि रिफ्रेसमेन्ट, डीजे प्रस्तुति र शुभकामना आदानप्रदान जस्ता मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिएको छ।

यस्तै, कलेजका अध्यक्ष हरिशरण पाठकले नेपाली विद्यार्थीहरूलाई अध्ययनका लागि विदेश पलायन हुनबाट रोकी नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्नु नै कलेजको मुख्य लक्ष्य रहेको प्रष्ट पारे। कलेजका प्रबन्ध निर्देशक इन्जिनियर दिवस मैनालीले यो कार्यक्रमले प्लस टु सकेर बसेका विद्यार्थीहरूलाई स्वदेशमै रहेका नवीन सम्भावनाहरू पहिल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 यसैबीच, जीएसटी कलेजले आगामी शैक्षिक सत्रका लागि बीबीए (BBA) को प्रवेश परीक्षाको मिति समेत तय गरेको छ। कलेज प्रशासनका अनुसार आगामी २०८३ साल श्रावण १७ गते बिहान ८ बजे कलेजकै आफ्नै परिसरमा प्रवेश परीक्षा सञ्चालन गरिनेछ। प्रवेश परीक्षालाई लक्षित गरी कलेजले तयारी कक्षा (इन्ट्रान्स प्रिपरेसन) समेत सुरु गरिसकेको र इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क गरी कक्षामा सहभागी हुन सक्ने कलेजले जनाएको छ।

तपाईको प्रतिक्रिया