गैँडाकोट- नवलपुरको गैँडाकोटमा आजदेखि ‘दोस्रो गैँडाकोट नगरस्तरीय अन्तर विद्यालय छात्र/छात्रा बक्सिङ प्रतियोगिता’ सुरु भएको छ। विद्यालय उमेर समूहका विद्यार्थीहरूमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गर्ने र स्थानीय स्तरमा बक्सिङ खेलको जग बलियो बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।
गैँडाकोट नगर बक्सिङ संघको आयोजना तथा गैँडाकोट नगर खेलकुद विकास समितिको समन्वयमा सुरु भएको यस प्रतियोगितामा नगरभित्रका संस्थागत (निजी) र सामुदायिक (सरकारी) गरी कुल १० वटा विद्यालयले भाग लिएका छन्। युवा मुक्केबाजहरूको उत्साह बढाउन आयोजना गरिएको यस प्रतियोगितामा २६ केजीदेखि ७० केजी सम्मका विभिन्न तौल समूहमा छात्र तथा छात्राहरूले रिङभित्र आफ्नो कौशल प्रदर्शन गर्नेछन्।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले प्रतियोगिताको शुभारम्भ गर्नुभयो। सो अवसरमा बोल्दै मेयर अधिकारीले नगरको पहिचान बढाउन खेलकुदको भूमिका महत्त्वपूर्ण रहने भन्दै आगामी दिनमा पनि यस्ता जग बसाल्ने प्रतियोगिताहरूलाई नगरपालिकाले नीतिगत र आर्थिक रूपमा प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
गैँडाकोट नगर बक्सिङ संघकी अध्यक्ष शारदा शाही ठकुरीले प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै खेलाडीहरूको मनोबल बढाउनुभयो।उहाँले भन्नुभयो:”गैँडाकोटमा बक्सिङ खेलको प्रचुर सम्भावना छ, मात्र आवश्यकता सही प्लेटफर्मको हो।
विद्यालय स्तरबाटै बालबालिकाहरूलाई रिङमा उतारेर उनीहरूको डरलाई आत्मविश्वासमा बदल्ने र भविष्यका राष्ट्रिय च्याम्पियन उत्पादन गर्ने उद्देश्यले हामीले यो प्रतियोगिता निरन्तरता दिएका हौँ। स्रोत-साधनको सीमितताका बावजुद खेलाडीहरूको यो उत्साहले हामीलाई थप ऊर्जा दिएको छ।”
उद्घाटन समारोहमा खेलकुद, राजनीति र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला खेलकुद विकास समितिका सचिव निराजन गौतम र खेलकुद अभियन्ता धामनाथ सापकोटा रहनुभएको थियो।
त्यस्तै, अतिथिहरूमा गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्की, खेलकुदप्रेमी महिला नेतृ शान्ति न्यौपाने, स्थानीय समाजसेवी पार्वती लम्साल र कराते प्रशिक्षक कोपिला मगर लगायतको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यालय स्तरबाटै सुरु गरिएको यो प्रयासले बालबालिकालाई अनुशासित बनाउन र कुलतबाट टाढा राख्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।




pic-Yubraj Sharma

उज्यालो खबर