भरतपुर । लिटिल फ्लावर स्कुल ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा निकाल्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयतर्फ सबैभन्दा धेरै ४ जना विद्यार्थीले ४.० जीपीए ल्याउने एकमात्र विद्यालय बन्न सफल भएको छ ।
विद्यालयका विद्यार्थी विया श्रेष्ठ, सफल रसाइली, प्रज्ञा त्रिपाठी र प्रिन्स घर्ती मगर ले ४.० जीपीए ल्याउँदै विद्यालयलाई नयाँ उचाइमा पुर्याएका हुन् ।
विद्यालयका प्रिन्सिपल डा फादर मन्जुस एसजे का अनुसार यस वर्ष विद्यालयको समग्र नतिजा ९८.८८ प्रतिशत रहेको छ । उनका अनुसार ६८ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथि तथा ७८ जना विद्यार्थीले ३.२ जीपीएभन्दा माथि अंक प्राप्त गरेका छन् ।
“विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा दिँदै आएको छ । यसपटक भरतपुर महानगरभित्र संस्थागततर्फ सबैभन्दा धेरै ४ जीपीए ल्याउने विद्यालय बन्न सफल हुनु हाम्रो लागि गौरवको विषय हो,” प्रिन्सिपल फादर मन्जुसले बताए ।
गत वर्ष पनि यस विद्यालयबाट ५ जना विद्यार्थीले ४.० जीपीए ल्याएका थिए । शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा समेत अग्रणी मानिने लिटिल फ्लावर स्कुलले यस वर्षको नतिजासँगै आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेको विद्यालयले जनाएको छ ।



उज्यालो खबर


