×

उद्योग बाणिज्य संघ चितवनको ५९औँ साधारणसभा तथा अधिवेशन अन्तर्गत पुस २१ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी सुवेदी प्यानलसहित मैदानमा उत्रिएका छन्। हालका बरिष्ठ उपाध्यक्ष सुवेदीले ‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिबद्धताः सबल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’ भन्ने नारासहित निर्वाचनमा सहभागिता जनाएका हुन्।

अनुभव र युवाको सन्तुलित संयोजनसहितको टिम बनाएर अघि बढेका सुवेदी विगत २२ वर्षदेखि उद्योग बाणिज्य संघ चितवनको विकासमा निरन्तर सक्रिय कर्मयोगी व्यवसायीका रूपमा परिचित छन्। साधारण सदस्यदेखि कार्यसमिति सदस्य, तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष (दुईपटक), प्रथम उपाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका सुवेदी अब अध्यक्ष पदमा उम्मेदवार बनेका हुन्।

संघलाई नारायणगढ केन्द्रित सानो दायराबाट बाहिर निकालेर जिल्लाव्यापी बनाउने कार्यमा सुवेदीको महत्वपूर्ण भूमिका रहेको छ। उनकै पहलमा उद्योग बाणिज्य संघ माडी, खैरहनी र इच्छाकामना इकाई गठन भई संघको पहुँच जिल्लाभर विस्तार भएको हो। यसै योगदानका कारण संघको सदस्य संख्या हाल करिब ४ हजार पुगेको छ।

संघभित्र आर्थिक पारदर्शिता कायम गर्न मासिक आम्दानी–खर्च कार्यसमिति बैठकबाट अनुमोदन गर्ने व्यवस्था सुवेदीकै पहलमा सुरु गरिएको हो। व्यवसायीका समस्या र पीडामा तत्काल साथ दिने सुवेदीले विभिन्न अस्पतालसँग सहकार्य गरी सदस्य व्यवसायीका लागि स्वास्थ्य उपचारमा छुट सुविधा उपलब्ध गराउने सम्झौता गराएका छन्।

युवा उद्यमी उत्पादनका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सहकार्य गर्दै बिजनेस इन्क्युबेसन सेन्टरमार्फत बुटक्याम्प सञ्चालन, संघको सदस्यता तथा नवीकरणका लागि मोबाइल एप विकास, आन्तरिक राजश्व कार्यालय भरतपुरमा कर परामर्श तथा सहजीकरण केन्द्र स्थापना गर्ने योजनामा पनि सुवेदीको महत्वपूर्ण भूमिका रहेको छ।

अध्यक्षका उम्मेदवार सुवेदीले भने, “मैले झण्डै २० वर्षदेखि उद्योग बाणिज्य संघ चितवनमा बसेर व्यवसायीहरूको हकहितका लागि समय, श्रम र समर्पण दिएको छु। कार्यसमिति सदस्यदेखि बरिष्ठ उपाध्यक्षसम्म तपाईंहरूले नै मलाई जिम्मेवारी दिनुभयो, अब अध्यक्षमा पनि तपाईंहरूको अमूल्य मतको अपेक्षा गरेको छु।”

सुवेदीको प्यानलमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारका रूपमा युवा व्यवसायी राजेन्द्र ओली रहेका छन्, जसलाई संघका योजनाकारका रूपमा लिइन्छ। उपाध्यक्षमा अशोक अधिकारी, नारायण प्रधान र राजन पिया उम्मेदवार छन्। प्यानलमा अनुभव र युवाको प्रभावकारी संयोजन देख्न सकिन्छ।

व्यवस्थित बजार तथा फुटपाथ व्यवस्थापन, पार्किङको उचित समाधान, आर्थिक शिथिलताका कारण संकटमा परेका व्यवसायीका लागि कर, घरभाडा र बैंकिङ समस्या समाधान, राजश्व तथा अन्तःशुल्कसम्बन्धी समस्या समाधानमा पहल, आन्तरिक राजश्व कार्यालयमा परामर्श कक्ष पुनःस्थापना, तथा व्यवसायी राहत कोषको रकम वृद्धि गर्ने प्रतिबद्धता सुवेदी प्यानलले जनाएको छ।

महिला उद्यमी सदस्यमा सुनिता लिगल कर्माचार्य, उद्योगतर्फ अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, कृष्णकुमार महतो र सन्तोष देवकोटा रहेका छन्। वाणिज्यतर्फ अस्मिता तिमिल्सिना, गौरव श्रेष्ठ, नरेश खनाल, विष्णु लम्साल, मुकुन्दप्रसाद गौतम र श्रीकृष्ण लम्साल उम्मेदवार छन्।

संघको नयाँ नेतृत्व चयनका लागि पुस २१ गते मतदान हुने छ।

तपाईको प्रतिक्रिया