चितवन – लायन्स क्लब अफ चितवन राईजले आयोजना गर्न लागेको ब्याडमिन्टन प्रतियोगितामा सबै लायन्स क्लबलाई सहयोग गर्न डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुभएको छ। आज क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजित छलफल कार्यक्रममा उहाँले प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग आवश्यक रहेको बताउनुभयो।
प्रतियोगिता असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा हुनेछ। कार्यक्रममा क्लबका अध्यक्ष, जोन चेयर पर्सन, रिजन चेयर, क्लस्टर चिफ र क्याबिनेटका पदाधिकारी तथा लायन्सकर्मी सहभागी थिए। गर्भनर सापकोटाले भन्नुभयो, “यो चितवन राईजले आयोजना गरेको भए पनि सम्पूर्ण लायन्सहरुको कार्यक्रम हो। सबैले समूह दर्ता गरेर सहयोग गरौं।”
प्रतियोगितामा पुरस्कार राशी ठूलो भएकाले बढी सहभागिता हुने अपेक्षा गरिएको छ। डिष्ट्रिकका फस्ट भिडिजी प्रभाकर पण्डित, सेकेण्ड भिडिजी दीपेन्द्र खतिवडा र क्याबिनेट सेक्रेटरी डा. गंगा सापकोटाले सहभागीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो।
आयोजक क्लबका अध्यक्ष शिरिष पन्तले भन्नुभयो, “प्रतियोगिता केवल जीत हार होइन, लायन्स क्लबबीचको मित्रता, एकता र आपसी भाइचाराको प्रदर्शन पनि हो। यसले लायन्सहरु सामाजिक र खेलकुद क्षेत्रमा सक्रिय रहेको प्रमाणित गर्छ।”
प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबका सदस्यहरु मात्र सहभागी हुन पाउनेछन्। नाम दर्ता भदौ ३१ भित्र गरिनु पर्नेछ। एउटा जोडी दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। एउटै क्लबबाट धेरै समूह सहभागी हुन सक्ने भए पनि प्रत्येक समूहले शुल्क तिर्नु अनिवार्य छ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
मुख्य प्रायोजक नेपोभिट टायलका अध्यक्ष मनोज प्रसाद रौनियारले कम्पनी नेपालको पहिलो टायल उद्योग भएको र स्वदेशी लगानी तथा कच्चा पदार्थ प्रयोग गरी उत्पादन भइरहेको बताउनुभयो।



उज्यालो खबर




