×

चितवन- भरतपुर १२ सूर्यचोकमा मुख्य कार्यालय रहेको भरतपुर जनसेवा साकोसले आफ्नो २९औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ।

संस्थाले प्रत्येक वर्षझैं यस वर्ष पनि असार १६ गते स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष कार्यक्रमहरू सम्पन्न गरेको हो। बिहान ९:३० बजे भरतपुर–१० बालमन्दिर स्थित अटिजम विद्यालयमा फर्निचर वितरण गरिँदा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कुल बहादुर खत्रीले गर्नुभयो।

त्यसैगरी, भरतपुर–१२ नौरंगे स्थित धनेश्वर शिवालय मन्दिर परिसरमा “घरायसी आगलागी, ग्यासको सुरक्षित प्रयोग र प्राथमिक उपचार” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।

युवा परिचालन उपसमिति संयोजक संगिता बानियाँ थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष खत्री रहनुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक भरत काफ्ले, संस्थाका सञ्चालक, तीनवटै सेवा केन्द्रका संयोजक, उपसमितिका संयोजक प्रमुख व्यवस्थापकसहित करीब ७० जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको औपचारिक सत्रमा संस्थाका सचिव वेद प्रसाद बजगाईंले सञ्चालन गर्नुभएको कार्यक्रमलाई सहसचिव अनुजा दाहालले स्वागत मन्तव्यद्वारा सुरू गर्नुभएको थियो। संस्थाका अध्यक्ष खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने संयोजक थापाले धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमका प्रशिक्षक वसन्त रानाले आगलागीका प्रकार, नियन्त्रण विधि, दैवी प्रकोप तथा विपत्तिमा जनधनको सुरक्षा, प्राथमिक उपचारका उपायहरू प्रष्ट ढंगले प्रशिक्षणसहित डेमोमार्फत प्रस्तुत गर्नुभएको थियो। प्रशिक्षण बिहान ११ बजेदेखि दिउँसो २:३० बजे सम्म सञ्चालन भएको थियो।

स्थापना दिवसको अन्त्यमा अपरान्ह ४ बजे संस्थाको मुख्य कार्यालयमा आयोजित अन्तिम कार्यक्रममा अध्यक्ष कुल बहादुर खत्रीको अध्यक्षता, सञ्चालक, सल्लाहकार, सेवा केन्द्र संयोजक, उपसमिति र कर्मचारीहरूको उपस्थितिमा केक काट्दै २९औं वार्षिकोत्सव समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया