×

गैँडाकोट- मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटप्रति विभिन्न पक्षबाट आएका प्रतिक्रिया र सुझावप्रति सम्मान व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै मेयर अधिकारीले सानो बजेट भए पनि सरोकारवालाको अपेक्षा ठूलो रहेको स्वीकार्दै प्राप्त प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको जनाएका छन्।

“अरुको अयोग्यताबाट प्रभावित हुनु आफ्नै अयोग्यता हो भन्ने कुरा मैले राम्रोसँग बुझेको छु,” मेयर अधिकारीले लेखेका छन्, “जसले जे देख्यो, जति बुझ्यो, त्यही नै आँकलन गर्ने हो।”

उनले बजेट निर्माणमा मितव्ययिता, समावेशिता र समान्यायिक वितरण प्रणालीलाई प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन्। नगरवासीको सम्पत्ति जोगाउने, योजना छनोटमा प्राथमिकिकरण मिलाउने र संघीय, प्रदेश तथा स्थानीय तीनै तहका योजनाहरूलाई मिलाएर बजेट विनियोजन गरिएको बताइएको छ।

मेयर अधिकारीले सबै वडामा एकै पटक ठूला योजना पर्न नसक्ने सम्भावना रहेकाले केही समय धैर्य गर्न आग्रह गरेका छन्। “प्रिय मित्रजनहरू, बजेटबारे विरोध पनि मजाले गरौं। केही काम भएन, गरेन पनि भनौं। अब हुँदैन पनि भनौं,” भन्दै उनले आलोचनालाई स्वागत गर्ने भाव प्रकट गरेका छन्।

विनियोजित बजेट सीमित भएकाले सबै इच्छुकको माग तत्काल पूरा गर्न नसकिएको स्पष्ट पार्दै उनले भने, “हरेक प्रतिक्रिया प्रति गम्भीर ध्यानाकर्षण भएको छ। तपाईंहरूको प्रेरणाले बाँकी समय अझै सशक्त तरिकाले नगरबासीको काममा लाग्ने प्रण गरेको छु।”

नगर प्रमुख अधिकारीको यो अभिव्यक्तिले बजेटको विषयमा सार्वजनिक चासो र संवादलाई सहज रुपमा लिनुपर्ने सन्देश दिएको देखिन्छ।

तपाईको प्रतिक्रिया