×

चितवन–स्थानीयबासीले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्न भरतपुर महानगरपालिका वडा नं।२२ ले रैथाने बजार संचालनमा ल्याएको छ । नयाँ वर्षको दिन पारेर वडा कार्यालयले वडा कार्यालयसंगै रहेको हस्तकला केन्द्र प्रदर्शनी भवनमा रैथाने बजार शुभारम्भ गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले उक्त बजारको शुभारम्भ गर्नुभयो । सो क्रममा बोल्दै प्रमुख दाहालले वडा कार्यालयले गरेको यो कार्यको प्रशंसा गर्नुभयो । ‘वडा अध्यक्षज्यू नयाँ–नयाँ कुरा गर्न एकदम अग्रसर हुनुहुन्छ, स्थानीयबासीलाई कसरी राम्रो गर्ने, उहाँहरुको जिविकोपार्जनलाई उकास्न धेरै कोणबाट सोँचेर काम गर्नुहुन्छ, यो कामलाई पनि निकै उत्कृष्ट गर्नुभएको छ’–प्रमुख दाहालले भन्नुभयो ।

उहाँले स्थानीयको जिविकोपार्जन बलियो बनाउन महानगर लागि परेको बताउनुभयो । यस वडाका मुख्य सबैजसो सडकहरुमा कालोपत्रे सकिएको भन्दै अब स्थानीयलाई प्रवद्र्धन गर्ने काममा महानगर अघि बढ्ने बताउनुभयो । उहाँले कृषि, पर्यटन, शिक्षा, खेलकुदलगायत सबै क्षेत्रमा महानगरले उल्लेखीय काम गरे पनि अझै बाँकी रहेको समयमा राम्रो काम गर्दै अघि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया