×

काठमाडौँ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको बताएका छन् ।थाइल्यान्डका व्यवसायीहरूसँग आज बैंककमा भएको भेटवार्ताका क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरूले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताएका छन् ।

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराएका छन् । “नेपाल लगानीको लागि पर्याप्त सम्भावना भएको मुलुक हो । पछिल्लो पटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आर्कषित गर्ने अवस्था छ । निजी क्षेत्रको तर्फबाट पनि म थाई व्यवसायीहरूलाई लगानीको लागि आग्रह गर्दछु ।” अध्यक्ष ढकालले भने ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यहीँ चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेको छ ।

नेपाल र थाइल्याण्डबिच बुधबार मात्र २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ ओटा सम्झौतामा हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया