×

चितवन । बँदेलको बच्चा पालेकोु भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गएराती माडीका दुई महिलाहरुलाई पक्राउ गरेको छ । गएराती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको टुकडीले माडी ८ खरकट्टा निवासी बर्ष ३८ का सरस्वती भण्डारी र सोही वडाको माथिल्लो शिवद्वार गाउँ निवासी बर्ष ३० का रञ्जिता मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजना बिपन्न महिला कृषक रहेको र दुबैजनालाई गएराती नै सेनाले निकुञ्ज मुख्यालय कसरा पुर्याएको जानकारी पाइएको माडी-८ का वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय सरकार एवं वडासंग कुनै समन्वय नै नगरी पुरुष सुरक्षाकर्मीबाट महिला कृषक पक्राउ पर्नु निन्दनीय रहेकोु वडाध्यक्ष भण्डारीको भनाई छ । निकुञ्ज प्रशासनले यसअघि माडी-१ सेरुवाबाट समेत ३ जना महिला कृषकहरुलाई पक्राउ गरी थुनामा राख्नुका साथै नगद जरिवाना सजाय गरेको थियो ।
नेपाल सरकार भने गतबर्ष मंसिर ७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी निजी खेत, खोला , बारीमा आई क्षति पुर्‍याएको अवस्थामा विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निणर्य गरेको अवस्था छ ।

तपाईको प्रतिक्रिया