×

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडाबाटै योजनाको सम्झौता र भुक्तानी दिन थालेपछि उपभोक्ता समितिलाई सहज भएको छ । सम्झौता र भुक्तानीका लागि घण्टौँ धाएर गाउँपालिका कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएपछि सहज भएको हो । वडा नं। १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले चालु आर्थिक वर्षदेखि उपभोक्ता समिति मार्फत् सञ्चालन हुने साना योजनाको वडाबाटै सम्झौता र भुक्तानी दिन सुरु गरिएको बताउनुभयो ।

भौगोलिक विकटताका कारण पटकपटक साना योजनाका लागि पनि गाउँपालिका धाइरहनु पर्दा सास्ती बेहोर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । वडाध्यक्ष रानामगरका अनुसार गाउँपालिका धाइरहनुपर्ने हुदाँ योजनाको निर्माणका लागि उपभोक्ता समितिमा रहेर काम गर्न स्थानीय अग्रसर नहुने समस्या समेत हुने गरेको थियो । गाउँपालिका उपाध्यक्ष माया सिलवालले रु। पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको व्यवस्था गरिएको बताउनुभयो ।

उपाध्यक्ष सिलवालका अनुसार सो साना आयोजनाको अनुगमन पनि वडा समितिबाट नै गर्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो,“हामीले साना पाँच लाख सम्मका योजना वडाबाट नै सम्झौता र भुक्तानीको समेत व्यवस्था गरेका छौँ, ती योजनाको वडा समितिबाट नै अनुगमन हुन्छ, सहजताका लागि प्रत्येक वडामा प्राविधिक राखेका छौँ ।” उहाँका अनुसार उपभोक्ता समितिले योजना निर्माण सम्पन्न भएपछि सबै कागजपत्र वडा कार्यालयमा बुझाउनुपर्नेछ भने आवश्यक प्रक्रिया पुरा भएपछि वडाबाटै भुक्तानी हुनेछ ।

तपाईको प्रतिक्रिया