चितवन । इच्छाकामना गाउँपालिकाको आयोजनामा आजदेखि पालिकाका महिला सदस्य तथा अगुवा महिलाहरुको लागि नेतृत्व विकास तालिम सुरु भएको छ ।पालिकाको उपाध्यक्षसँग आमा समूह कार्यक्रम अन्तर्गत पालिकाका सातै वडाका अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला समूहका अध्यक्ष तथा सचिव र वडाका महिला सदस्यहरुको नेतृत्व विकास तालिम सुरु भएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने तालिमको सोमबार भएको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।सो अवसरमा इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष तेजबहादुर शेरचन लगायतले मन्तव्य राखेका थिए ।
इच्छाकामना गाउँपालिकाका उपप्रमुख माया सिलवालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा उपप्रमुख सिलवालले महिलाहरुको नेतृत्व क्षमता विकासको लागि पाँच दिने क्षमता विकास तालिम आयोजना गरिएको जानकारी दिइन् । पालिकाको सातै वडाका ५० जनाभन्दा बढी महिला सहभागि भएका तालिमको पहिलो दिनको सहजीकरण पत्रकार प्रतिमा सिलवालले गरेकी थिइन् ।



उज्यालो खबर




