अष्ट्रेलिया –प्रत्येक व्यक्तिको पहिलो पाठशाला हो घर । विद्यालय र विश्वविद्यालयमा पढेर सिक्ने ज्ञान मान्छेले भुल्न सक्ला । तर, घर परिवारमा सिकेको ज्ञान, संस्कार र परम्परा शायदै भुल्न सकिन्छ ।आधुनिक संसारमा विद्यालय र विश्वविद्यालयले दिने शैक्षिक योग्यताको प्रमाणको महत्व बेग्लै छ । प्रमाणपत्रमा रहेको प्राप्ताङ्क र स्तरले मात्रै मान्छे पूर्ण हुन्छ त रु हुँदैन । उत्तर सहज छ ।मान्छेका सिकाइका चरण र विधि भिन्न भिन्न छन् । परिवारदेखि विद्यालय, समाजदेखि विश्वविद्यालय सबै क्षेत्र र तहका सिकाइ र अनुभवले मात्रै व्यक्तिले सही ज्ञान हासिल गर्न सक्छ ।
पहिलेदेखि नै उनको परिवार समाजसेवामा सक्रिय थियो । समाजलाई कुनै न कुनै रुपमा योगदान गरौं भन्ने भावना उनका अग्रजहरुमा थियो । गुल्मी रहँदा होस् वा चितवन झरेपछि होस्, बुवा विष्णुप्रसाद खरेलले अँगालेको समाजसेवाको भावना र कर्मलाई बुझेका डिला खरेलले सानैदेखि बुवाको पदचापलाई पछ्याए ।
शिक्षित र समाजसेवी परिवारमा जन्मिएका डिला खरेलको मनमा बाल्यकालमै प्रवेश गरेको समाजसेवाको भावना झाँगिदै गयो । देशमा रहँदा मात्रै होइन, परदेशमा हुँदा पनि उनीमा समाजसेवाको भावना मौलाइरह्यो । त्यही भावनाकै कारण उनी स्वतःस्फुर्त रुपमा गैरआवासीय नेपाली संघमा आबद्ध हुन पुगे ।
१५ वर्षअघि अष्ट्रेलिया पुगेका डिला खरेल निरन्तर एनआरएन अभियानमा सक्रिय छन् । कहिले पदमा बसेर त कहिले बाहिरै रहेर पनि नेपाली समुदायको हितमा लागिरहेका छन्। भन्छन्, ‘समाजसेवा त रगतमा नै रहेछ क्यारे !’
विना योजना परदेश
तीन छोरी पछिका पहिलो छोरा डिला । उनी जन्मिँदा परिवारमा छुट्टै खुसी र उत्साह थियो । शिक्षाप्रेमी बुवाका छोरा उनलाई नपढाउने त कुरै भएन । तर, पारिवारिक स्थिति र बसाइसराईका कारण बुवाले छोराछोरीको पढाइमा उतिसारो ध्यान दिन भने पाएनन् ।दुई दाजुभाइमध्येका जेठा डिलाको पढाइलेखाइ सामान्य रुपमा अगाडि बढ्यो ।
चितवनको साविकको नारायणपुर गाविसमा जन्मेका डिलाको विद्यालय तहको पढाइ गाउँमै भयो । उच्च शिक्षाको अवसर पनि चितवनमै मिल्यो । व्यवस्थापन संकायमा स्नातकोत्तर पुरा गरे ।पढाइमा अब्बल नै थिए । आमाको चाहना थियो छोरो डाक्टर बनोस् र बिरामीको सेवा गरोस् । बुवाको चाहना थियो बैंकर बनोस् र देशको सेवा गरोस् ।उच्च शिक्षामा व्यवस्थापन (वाणिज्य) विषय रोज्नु पनि त्यसैको संकेत थियो । वाणिज्य शास्त्रमा शिक्षा दिलाउने र कालान्तरमा बैंकर बनाउने बुवाको योजना अनुसार नै काम अगाडि बढ्दै थियो ।
‘बुवा चाहनुहुन्थ्यो छोराले जागिर पनि खाओस्, त्यसैले भरतपुर नगरपालिका लेखा सहायक र कम्प्यूटर अपरेटर पदमा रहेर चार वर्ष काम गरेँ’ पत्रकारसँगकाे कुराकानीमा उनले आफ्नो प्रारम्भिक जागिरे जीवनबारे अनुभव साटे ।नगरपालिकाको जागिरले उनलाई चितवनमा रोक्न सकेन । थप अध्ययन र संभावनाका खोजी गर्न भन्दै उनी हानिए काठमाडौं । त्यतिबेलासम्म उनको मनमा कहाँ जाऔं, के गरुँ भन्ने हुटहुटी शुरु भइसकेको थियो । अष्ट्रेलियामा थप अध्ययनका लागि अवसर पाए । त्यही अवसर समाउँदै उनी हानिए अष्ट्रेलिया ।
अष्ट्रेलिया अनुभव
सन् २००६ मा अष्ट्रेलिया पुग्दा त्यहाँ उनका आफन्त कोही थिएनन् । पढाइ र विश्वविद्यालय मात्रै दिमागमा थिए । अकस्मात विदेश हानिएका उनको मनमा खासै चैन थिएन ।उनी विदेश गएकोमा परिवार पनि खुसी थिएन । विदेशको बसाइ सहज थिएन । ‘म अष्ट्रेलिया आएपछि बुवा त रिसाउनु नै भयो’ उनले भने ‘पढेलेखेका युवाहरु विदेश जाने होइन, देशमै केही गर्नुपर्छ र मुलुक राम्रो बनाउनुपर्छ भन्ने बुवाको चाहना थियो ।’
एकातिर पढाइ, अर्कातिर खर्च व्यवस्थापन ।
अनि लागे कामको खोजीमा ।
होटल, रेस्टुरेन्टमा जे पाइन्छ, त्यो काम गर्नैपर्यो । सन् २००९ मा एउटा रेस्टुरेन्टमा काम गर्दैगर्दा भाँडा माझ्ने मेसिन चलाउन नजान्दा उनको हातै भाँचियो । ‘आफ्नो दुःख आँफैसँग’ भने झैं कसैलाई सुनाएनन् । तीन महिनापछि हात ठीक भयो । फेरि लागे काम गर्न ।दुई वटा विषयमा मास्टर्स हुन् उनी । एपीए पूरा गरे । अष्ट्रेलिया छाड्न मन लागेन । फेरि भर्ना भए । एमबीए पनि पूरा गरे । अध्ययनशील डिलाले लेखा, वित्त, कर लगायतका धेरै विषयमा डिप्लोमा गरेका छन् । हाल उनी अष्ट्रेलियाको ‘मोर्टगेज एण्ड फाइनान्स एशोसिएसन’ दर्तावाल प्रशिक्षक हुन् भने त्यहाँका विभिन्न कलेजमा लेखा तथा वित्त विषयमा अध्यापन पनि गर्दै आइरहेका छन् ।
अध्ययनकै क्रममा त्यहाँको पीआरका लागि आवेदन गरेका उनको आवेदन स्वीकृत भयो । पीआर पनि पाए ।अब भने उनको मनमा हल्का खुसी छायो ।परिवारलाई सुनाए । पहिले बेखुसी बुवा आमा अब भने बानी पर्दै हुनुहुन्थ्यो । ‘तैपनि विदेशमा धेरै बस्न हुँदैन, पढाइसकेपछि फर्किनुपर्छ भन्नुहुन्थ्यो’ बुवाको भनाइ उनले सम्झिए ।
तर, छोरो भने अष्ट्रेलिया बसाइ लम्ब्याउने योजनामा लागिसकेको थियो । पहिले अर्काको रेस्टुरेन्टमा काम गर्ने ‘कामदार’ डिला खरेल त्यतिबेलासम्म आफ्नै कम्पनी खोलेर ‘मालिक’ बन्ने तयारीमा थिए ।
आफ्नै कम्पनी, आफ्नै काम
विश्वविद्यालयको पढाइ सकियो, पीआर पनि हात लाग्यो । त्यसपछि स्थापना भयो ‘इनोभेटिभ एसोसिएट्स’ ।लेखा, वित्त, कर र विमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको यो कम्पनीका प्रमुख डिला खरेल हुन् । सिड्नीमा प्रधान कार्यालय रहेको पन्ध्र जना संलग्न यो कम्पनीले चार राज्यमा शाखा विस्तार गरेको छ । टिम मिल्यो, काम जम्यो, अब आम्दानीले पनि पछ्याउन थाल्यो ।
सन् २०११ मा आफैँले कम्पनी खोलेपछि उनको समाजसेवी भावनालाई पनि टेवा मिलेको छ । ‘गोजी भरिलो भएपछि मन पनि फराकिलो हुन्छ’ भने झैं सामाजिक काममा अग्रसर हुन उनलाई सोच्नुपर्ने अवस्था रहेन । पारिवारिक पृष्ठभूमि र नेपालमै हुँदा रोटो¥याक्ट क्लबमा सहभागी भएर काम गरेको अनुभवसँगै एनआरएनएमा उनको सक्रियता पनि बढ्दै गयो ।
एनआरएनएः समाजसेवाको बाटो
सन् २००३ मा स्थापना भएको एनआरएनए २००५ मा अष्ट्रेलिया पुगिसकेको थियो । २००६ मा अष्ट्रेलिया एनसीसीको अध्यक्ष थिए, मन केसी (हालका आइसीसी उपाध्यक्ष) ।त्यतिबेलै उनले एनआरएनबारे थाहा पाइसकेका थिए । ‘मन केसीकै कार्यकालमा ‘स्टुडेण्ड टास्क फोर्स’मा रहेर काम गरेँ’ उनले आफ्नो पहिलो अनुभव सुनाए ।
त्यसपछि निरन्तर अभियानमा लागेका उनी कहिले पदमा बसे, कहिले बाहिरै बसेर काम गरिरहे ।काम गर्दै जाँदा उनी राज्य परिषद समितिको सदस्य भए । एनसीसीको कोषाध्यक्ष बने । अर्को कार्यकालमा प्रवक्ता रहे । जतिबेला कार्य समितिको पदमा रहे, उनले संस्थाको गरिमा बढाउने काम मात्रै गरे । ‘हरेक कार्यकालमा सम्झिन लायक काम गरेको छु’ उनको दाबी छ ।
पारदर्शितादेखि नेपाल प्रवर्द्धनसम्म
अष्ट्रेलियामा नेपालीहरुको चाप बढ्दो छ । नेपालीहरु अष्ट्रेलिया जान थालेको पनि निकै वर्ष भइसक्यो ।नेपालीहरुको संख्या वृद्धिसँगै विभिन्न नाममा संगठित हुने क्रम पनि बढिरहेको छ । तर, सबैको साझा संस्था भने एनआरएन नै हो ।अष्ट्रेलिया पुगेसँगै एनआरएनमा आबद्ध भएका डिला खरेल सन् २०१५–२०१७ को कार्यकालका लागि कोषाध्यक्ष छानिए । वाणिज्य तथा व्यवस्थापन शास्त्रका विद्यार्थी डिलाले संस्थाको आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखे । संस्थाको पारदर्शिता र व्यवस्थापन पहिलो शर्त हो, मलाई सहयोग पनि मिल्यो, सफल भएँ, उनले भने ।
नेपाल फेस्टिबल आयोजना गर्ने क्रम शुरु भइसकेको थियो । अष्ट्रेलियाली समुदायलाई नेपालको कला संस्कृति प्रदर्शन गर्नु आफैंमा सह्रानीय थियो । सन् २०११–२०१३ को कार्यकालमा नै नेपाल हाउस स्थापना गरी पशुपतिनाथको मन्दिर निर्माणको काम सम्पन्न भएको थियो । राजधानीमा मात्रै नभई विभिन्न स्थानमा नेपाल हाउस निर्माण गर्ने र नेपाल फेस्टिवल गर्ने क्रमले पनि तीव्रता पाउन थाल्यो ।
त्यही क्रममा उनले एउटा नयाँ योजना अघि सारे ।
त्यो योजना थियो ‘राष्ट्रिय उद्यमी सम्मेलन’को आयोजना । कार्य समितिले साथ दियो । उनले सम्मेलनको संयोजन गरे । सन् २०१७ मा पहिलो राष्ट्रिय उद्यमी सम्मेलन सम्पन्न भयो । सबैको साथ पाएपछि नयाँ काम पनि संभव हुँदो रहेछ, उनले भने ।एनआरएनको आयोजनामा भएको सम्मेलनमा अष्ट्रेलियाका ख्यातिप्राप्त उद्योगीरव्यवसायी, सरकारी अधिकारी, बिजनेस काउन्सिल अफ अष्ट्रेलियाका प्रतिनिधिहरु सहभागी भए । त्यसको उद्देश्य नेपाल लगानीका लागि अनुकूल छ, भन्ने स्पष्ट पार्नु थियो, उनले भने ।
त्यसपछि क्रमिक रुपमा दुई दुई वर्षमा उद्यमी सम्मेलनको आयोजना भइरहेको छ । तेश्रो सम्मेलन केही महिनाअघि मात्रै सम्पन्न भएको छ ।
अष्ट्रेलियाली लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक भएको खरेलको अनुभव छ । अब प्रत्यक्ष वैदेशिक लगानीका लागि सहज भएको छ, उनले भने, केही प्रावधानमा नेपाल सरकार र राष्ट्र बैंकले पनि सहजीकरण गरेको छ ।
‘यसको मुख्य उद्देश्य एक एनसीसी, एक लगानी, एक रोजगारी हो’ उनले उद्देश्यबारे थप प्रष्ट पारे ।नेपाल र अष्ट्रेलियाका बीचमा सम्बन्ध थप बलियो र प्रभावकारी बनाउने उनको चाहना छ । ‘सम्मेलनले पनि त्यसलाई थप बल पुर्याएको छ’ उनले भने । एनआरएनले दुई देशका सरकारहरुका बीचमा पनि पुलको काम गर्न सक्ने उनको बुझाइ छ ।
सन् २००५ मा अष्ट्रेलियामा एनआरएनए स्थापना हुँदा यो संस्था न्यू साउथ वेल्स राज्यमा मात्रै दर्ता थियो । उनी कोषाध्यक्ष हुँदा नै यसलाई केन्द्रीय सरकारको निकायमा दर्ता गर्नुपर्छ भन्ने पहल थाले । अहिले त्यो पहलले पूर्णता पाएको छ ।
डिलाका बारेमा पूर्वअध्यक्ष तुनौ घोतानेले यस्तो टिप्पणी गरेका छन्, ‘ डिला जहिले पनि खास विषय र प्रस्ताव लिएर अगाडि बढ्छन् र त्यसलाई परिणाममा पुर्याएर मात्रै छाड्छन् ।’ घोताने थप्छन्, ‘ एनआरएनए अष्ट्रेलियाको आर्थिक पारदर्शिता, संस्थाको केन्द्रीय स्तरमा दर्ता, राष्ट्रिय उद्यमी सम्मेलन, नेपाल फेस्टिवल, नेपाल हाउसमा नेपाली झण्डाको फरफराहट र उनले थालनी गरेका कामले अहिले पनि निरन्तरता पाउनु अझ महत्वपूर्ण कुरा हो ।’
सन् २०१९–२०२१ कार्यकालका लागि उनी उपाध्यक्ष पदमा उम्मेदवार थिए । तर, चुनावी परिणाम उनको पक्षमा आएन । तै पनि उनी एनआरएन अभियानमा सक्रिय नै छन् । एनआरएनए आइसीसीले गठन गरेको ‘इन्भेष्टमेन्ट एण्ड ट्रेड प्रमोसन’ समितिमा उनी आसियाना क्षेत्रको उपाध्यक्ष हुन् ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट कम्पनीले नेपालका विभिन्न जलविद्युत आयोजनामा लगानी गरिरहेको छ । तीनै मध्येको एक दोर्दीखोला आयोजनामा अष्ट्रेलियाबाट मात्रै साढे चार करोड बराबरको लगानी जुटेको छ । जसको संयोजन र व्यवस्थापन उनै खरेलले गरेका थिए ।नेपालमा लगानीका संभावना र नेपाल प्रबद्र्धनका लागि उनी निरन्तर सक्रिय छन् ।
परोपकारी काममा अग्रसर
गैरआवासीय नेपाली संघको एनसीसी होस् वा आइसीसी, जुन समितिमा रहे पनि गर्ने भनेको सेवा नै हो । सामाजिक संस्थामा सक्रिय हुनुको अर्थ नै सेवा हो, उनले राम्ररी बुझेका छन् । संस्थाबाट लिने होइन, दिने हो, सकेसम्म योगदान गर्ने हो, उनले भने ।
२०७२ सालमा नेपालमा भूकम्प जाँदा उनी एनसीसी कोषाध्यक्ष थिए । विश्वभरका नेपालीहरुले सहयोग गर्नु दायित्व नै थियो । विदेशका नेपालीहरुको संयोजन एनआरएनएले गरिरहेको थियो ।
अष्ट्रेलियामा पनि सहयोग संकलन तीव्र थियो । कोषाध्यक्ष खरेलको जिम्मेवारी नथपिने कुरै भएन । झण्डै एघार करोड रुपैयाँ संकलन भयो । भूकम्पले नेपालमा जनधनको ठूलो क्षति पुर्याएकोमा मन खिन्न भएपनि सहयोगको व्यवस्थापन गर्दै आइसीसीमार्फत नेपाल पठाउन सक्दा उनको मनले पनि राहत महशुस गरेको थियो ।
त्यसका अलावा उनी ‘हेल्प नेपाल नेटवर्क’ मा पनि उत्तिकै सक्रिय छन् । नेटवर्कका एक संस्थापक सदस्य उनी अहिले अन्तर्राष्ट्रिय कोषाध्यक्ष हुन् । यो नेटवर्क मार्फत पनि डेढ करोड बराबरको सहयोग संकलन गरी नेपाल पठाएको उनी सम्झिन्छन् ।
पछिल्लो पन्ध्र वर्षदेखि निरन्तर एनआरएन अभियानमा सक्रिय डिला खरेल यतिबेला एनआरएन एनसीसी अष्ट्रेलियाको नेतृत्व लिने चाहनासहित अगाडि बढेका छन् ।सन् २०२१–२०२३ कार्यकालका लागि आगामी जुलाई ३१ मा नयाँ नेतृत्व चयन हुँदैछ । विगतमा गरेका कामको जगमा नयाँ अजेण्डा तय गरी उनी चुनावी अभियानमा लागेका छन् ।
खरेलका योजना
पन्ध्र वर्ष लामो अष्ट्रेलिया बसाइका भोगाइ, संस्थामा रहेर गरेका कामका आधारमा बटुलेको अनुभव र नयाँ योजनासहित डिला खरेल नेतृत्व लिने अभियानमा जुटेका हुन् । भोगाइ र अनुभवले उनमा आत्मविश्वास मात्रै बढेको छैन, उनले नयाँ संभावना पनि देखेका छन् ।
एनआरएनका उद्देश्य विशाल छन् । दायरा फराकिलो छ । तर, यदाकदा यसले आफ्नो उद्देश्य बिर्सेको हो कि भन्ने आलोचना हुन थालेको छ । यसलाई चिर्ने उनको योजना छ । उनी भन्छन्, हामी खुम्चिएको हो कि भन्ने छ, दायरा फराकिलो बनाउने मेरो योजना छ ।
नेपाली समुदायलाई अष्ट्रेलियाको सरकारले राम्रो मान्छ । तर, नेपाल र नेपाली समुदायले त्यसको लाभ लिन सकेको छैन । अष्ट्रेलियाली सरकारसम्म पहुँच नहुँदा पनि त्यसो भएको हुनसक्ने उनको बुझाइ छ । सरकारसँग समन्वय गरी नेपाल र नेपाली समुदायले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने उनको अर्को अजेण्डा छ ।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने त उनको मुख्य अजेण्डा नै छ । दूतावासलाई थप प्रभावकारी बनाउने र प्रत्यक्ष वैदेशिक लगानी बढाउने योजना उनको छ । उद्यमी सम्मेलनको अन्तर्य ‘एक लगानीः एक रोजगारी’ नीतिको प्रभावकारी कार्यान्वयन पनि उनको अर्को अजेण्डा हो ।
नेपालमा जस्तो राजनीतिक खिचातानी जस्तो हुन्छ, त्यस्तै हावा वहन्छ विदेशतिर । विदेशमा रहेका नेपालीलाई पनि त्यो हावाले छोपिहाल्छ । तर, यस्तो प्रवृत्तिलाई नयाँ पुस्ताले राम्रो मान्दैन । त्यो हावा एनआरएनमा सल्केको कतिपयको गुनासो छ । यो अवस्था हटाउने उनको उद्देश्य छ । ‘एनआरएन सबैको साझा संगठन हो, यसलाई गैरराजनीतिक रुपमा सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’, उनले बेलिविस्तार लगाए ।जति गरे राम्रै गरे । अझै गर्नुपर्ने काम धेरै छन् । तीमध्येको एउटा काम हो, अष्ट्रेलिया जाने विद्यार्थीहरुले भोग्नुपर्ने समस्याको सामाधान ।
विद्यार्थीका साथी
अष्ट्रेलिया नेपालीहरुका लागि शैक्षिक गन्तव्य नैै हो । वर्षेनी हजारौं विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया पुग्छन् । अहिले पनि करिव सत्तरी हजारको हाराहारीमा नेपाली विद्यार्थी छन्, अष्ट्रेलियामा ।डिला स्वयम् अध्ययनका लागि अष्ट्रेलिया गएका व्यक्ति हुन् । तसर्थ, त्यहाँ विद्यार्थीहरुले भोग्नुपर्ने समस्या बारे उनी राम्ररी जानकार छन् । नयाँ देश, नयाँ ठाउँ, नयाँ परिवेश विद्यार्थीका लागि समस्या हुने नै भए । स्थानीय भूगोल, रहनसहन र ऐन नियमको जानकारी नहुँदा पनि थुप्रै विद्यार्थीले समस्या खेपिरहनु परेको छ । कतिपयको त ज्यानै जाने गरेको छ ।
उनको योजना छ, अष्ट्रेलिया जाने विद्यार्थीलाई जानु अघि नेपालमै ‘ओरिन्टेसन’ दिनु । अष्ट्रेलियाको बारेमा हाते पुस्तिका तयार पारी नेपाल पठाउने उनको योजना छ । राष्ट्र बैंक, शिक्षा मन्त्रालय, अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समेत यस बारेमा सहकार्य गर्ने योजना उनले बनाएका छन् ।
विद्यार्थी र तिनका अभिभावकले अष्ट्रेलियाका बारेमा जानकारी लिएपछि मात्र शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ पाउने व्यवस्था गर्न उनी लागि परेका छन् । ‘त्यसका अलावा एनआरएनएको कार्यालयमा नै महिनामा कम्तीमा एउटा ओरिन्टेसनको आयोजना गर्ने र त्यसमा विद्यार्थी र अभिभावकलाई सहभागी गराउने काम गर्न सकियो भने पनि यहाँ आएपछि हुनसक्ने थुप्रै दुर्घटनामा कमी आउने छ’ उनले योजना सुनाए ।
अधिकांश विद्यार्थी सशुल्क अध्ययनका लागि अष्ट्रेलिया पुग्छन् । कलेजलाई बुझाउनुपर्ने शूल्ककै लागि पनि काम गर्नुपर्ने हुन्छ । पढाइ छाडेर काममा लाग्दा पढाइ प्रभावित हुने निश्चित नै हुन्छ । यसलाई कम गर्न उनले ‘एनआरएन छात्रवृत्ति’को योजना अगाडि सारेका छन् ।
डेढ दशक लामो अनुभव र युवा जाँगरका साथ एनसीसीको नेतृत्वका लागि होमिएका डिला खरेलले दृष्टिकोण भएको र परिणामुखी काम गर्ने व्यक्तिको पहिचान बनाएका छन् । अभियान सञ्चालन गर्दै गर्दा उनले अधिकांशबाट सकारात्मक प्रतिक्रिया पाएका छन् । अष्ट्रेलियामा रहेका नेपालीहरुको सकारात्मक प्रतिक्रियाबाट खरेल उत्साहित देखिएका छन् ।



उज्यालो खबर




