चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक खर्च विवरण सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय कुरिनटारले एक सूचना जारी गर्दै गत आर्थिक वर्षमा भएको वित्तीय प्रगतिको विवरण सार्वजनिक गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा कुल ६५ करोड ५६ लाख ८७ हजार ७४० रुपैयाँ ५४ पैसा खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले यो खर्च कुल बजेट लक्ष्यको ८६.२४ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो।
उहाँका अनुसार कुल खर्च मध्ये गाउँपालिकाले प्रशासनिक तथा दैनिक कार्यसञ्चालनतर्फको चालु खर्चमा ३८ करोड ६० लाख ९ हजार ५१२ रुपैयाँ २२ पैसा खर्च गरेको छ, जुन चालु बजेटको ८८.९८ प्रतिशत हुन आउँछ। यसैगरी स्थानीय विकास र पूर्वाधार निर्माणतर्फको पूँजीगत खर्चमा २६ करोड ९६ लाख ७८ हजार २२८ रुपैयाँ ३२ पैसा खर्च भएको छ, जुन पूँजीगत बजेटको ८२.६० प्रतिशत हो।
बजेट कार्यान्वयनलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति, शिक्षक तथा स्थानीय सरोकारवालाहरूलाई प्रमुख प्रशासकीय अधिकृत बस्नेतले विशेष धन्यवाद समेत ज्ञापन गर्नुभएको छ। गाउँपालिकाले “सुखी, खुसी र समृद्ध इच्छाकामना ! कृषि, पर्यटन र पूर्वाधार विकास हाम्रो चाहना !!” भन्ने मूल नाराका साथ यो विवरण सार्वजनिक गरेको हो।




उज्यालो खबर

