गैँडाकोट – विक्रम संवत २०५६ साल। नवलपुरको गैँडाकोटमा भर्खरै एउटा नयाँ शैक्षिक कम्पन सुरु हुँदै थियो। २६ वर्षका एक ऊर्जावान् तन्नेरी हातमा चक र डस्टर लिएर शिशु कक्षा का ससाना नानीबाबुलाई अक्षर चिनाउँदै थिए। ति थिए- हिरालाल अर्याल।
उनीसँग न त ठुलो पुँजी थियो, न त भव्य भौतिक संरचना। थियो त केवल शिक्षाप्रतिको अथाह भोक र शिक्षणप्रतिको निष्ठा। त्यही शिशु कक्षाको जगबाट सुरु भएको हिरालालको यात्राले आज ३३ वर्षपछि ६० करोड रुपैयाँभन्दा बढी लगानीको एउटा विशाल शैक्षिक साम्राज्यको रूप लिइसकेको छ।गैँडाकोट इङ्ग्लिस स्कुलका संस्थापक तथा प्राचार्य हिरालाल अर्यालको यो कथा कुनै काल्पनिक चलचित्रभन्दा कम छैन।
२०३१ सालमा जन्मिएका हिरालालको सपना शिशु कक्षामा मात्रै सीमित रहने खालको थिएन। उनमा अझै सिक्ने र अगाडि बढ्ने तीव्र इच्छा थियो। गैँडाकोटमा शिक्षण गर्दागर्दै उच्च शिक्षाका लागि उनी २०५४ सालमा काठमाडौँ हानिए। काठमाडौँको सङ्घर्षपूर्ण बसाइपछि २०५६ सालमा उनले अङ्ग्रेजी विषयमा एम.एड. (M.Ed. in English) को उपाधि हासिल गरे र आफ्नै कर्मथलो गैँडाकोट फर्किए।
अङ्ग्रेजी भाषामा स्नातकोत्तर गरेका हिरालालको माग बजारमा ह्वात्तै बढ्यो। उनले भर्खरै स्थापना भएको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थीहरूलाई पढाउन थाले। सँगसँगै सरस्वती निकेतन स्कुलमा पनि उनको शिक्षण जारी रह्यो। २०५९ सालसम्म आइपुग्दा त उनी यस क्षेत्रकै कहलिएका शिक्षक भइसकेका थिए। उनले एकैसाथ सप्तगण्डकी कलेज, अक्सफोर्ड कलेज र सरस्वती निकेतन स्कुलमा दौडिएर पढाउन थाले। अध्यापनको यो व्यस्त र उर्जावान् शृङ्खला केही वर्षसम्म निरन्तर चलिरह्यो।
सबै कुरा सहज चल्दै थियो, तर हिरालालको मनमा केही नयाँ गर्ने हुटहुटी मरेको थिएन। २०६३ सालको पुस महिना, जतिबेला नेपालमा राजनीतिक संक्रमणकाल चल्दै थियो, हिरालाल ‘माइग्रेसन भिसा’ मा बेलायत प्रस्थान गरे।
बेलायत पुगेपछि उनले त्यहाँको शिक्षा प्रणालीलाई नजिकबाट नियाल्ने मौका पाए। उनले त्यहाँ ‘सप्लाई टिचर’ र स्वयंसेवक शिक्षकको रूपमा काम गर्न थाले। ६ वर्षको त्यो बसाइमा उनले बेलायतका करिब ५० वटा फरक-फरक विद्यालयहरूमा पढाउने दुर्लभ अवसर पाए।
“जब मैले बेलायतका विद्यालयहरूमा पढाउन थालेँ, तब म झस्किएँ। नेपालको घोकन्ते शिक्षा र त्यहाँको व्यावहारिक पद्धतिबीच आकाश-जमिनको फरक थियो,” हिरालाल विगत सम्झिन्छन्, “त्यहीँ मैले अठोट गरेँ- अब बेलायतमै बस्ने होइन, यहाँ सिकेको सीप र प्रविधिलाई लिएर आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको स्कुल खोल्ने हो।”
उनले बेलायतमा अध्यापन मात्र गरेनन्, त्यहाँको आधुनिक ‘शिक्षक तालिम कोर्ष’ समेत सफलतापूर्वक पूरा गरे, जसले उनलाई एक परिपक्व शैक्षिक उद्यमी बनायो।बेलायतको सुखसयल र उज्ज्वल भविष्यलाई त्यागेर हिरालाल २०७१ सालमा नेपाल फर्किए। नेपाल फर्केको भोलिपल्टैदेखि उनी आफ्नो ड्रिम प्रोजेक्ट ‘गैँडाकोट इङ्ग्लिस स्कुल’ को तयारीमा जुटे।
२०७२ सालको वैशाख महिना, जतिबेला नेपाल महाभूकम्पको पीडाले छटपटाइरहेको थियो, त्यस्तो कठिन समयमा हिरालालले गैँडाकोट इङ्ग्लिस स्कुलको जग बसाले। सुरुमा उनीसँग २४८ जना विद्यार्थी, १७ जना शिक्षक र ५ जना कर्मचारी गरी जम्मा २२ जनाको सानो टिम थियो। तर, हिरालालसँग बेलायतको अनुभव र फरक दृष्टिकोण थियो, जसले विद्यालयलाई छिट्टै लोकप्रिय बनायो।
१० वर्षको छोटो अवधिमा गैँडाकोट इङ्ग्लिस स्कुलले मारेको फड्को साँच्चै नै लोभलाग्दो छ। आज यो स्कुल गैँडाकोटको मात्र नभएर सिङ्गो गण्डकी प्रदेशकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित भइसकेको छ। यसै सफलताको जगमा गैँडाकोट इङ्ग्लिस स्कुलकै स्वामित्व र व्यवस्थापनमा अहिले अर्को ‘ज्ञानकुञ्ज स्कुल’ पनि सफलतापूर्वक सञ्चालन भइरहेको छ। हाल यी दुवै विद्यालयमा गरी कुल १,८५० जना विद्यार्थी अध्ययनरत छन्, जसमा गैँडाकोट इङ्ग्लिस स्कुलमा १,६०० र ज्ञानकुञ्जमा २५० जना रहेका छन्। यस विशाल शैक्षिक संस्थालाई हाँक्नका लागि ११४ जना शिक्षक र ६५ जना कर्मचारी गरी कुल १७९ जना जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। विद्यार्थीहरूको सुरक्षित र सुलभ आवतजावतका लागि ११ वटा ठुला बस, ३ वटा भ्यान र १ वटा कारसहितको बलियो यातायात पूर्वाधार तयारी अवस्थामा छ। यो सम्पूर्ण विश्वस्त भौतिक संरचना, गुणस्तरीय शैक्षिक वातावरण र सेवा विस्तारमा हालसम्म करिब ६० करोड रुपैयाँ बराबरको ठुलो लगानी भइसकेको छ।
कुनै पनि सफलता सहजै मिल्दैन। ६० करोडको यो शैक्षिक साम्राज्य खडा गरिसक्दा पनि प्राचार्य हिरालाल अर्यालका आँखामा सन्तुष्टिसँगै केही चिन्ताका रेखाहरू देखिन्छन्। निजी शिक्षा क्षेत्रप्रति राज्यले लिने नीति र दृष्टिकोणप्रति उनी निकै चिन्तित छन्।
“राज्यले निजी विद्यालयहरूलाई सहयोगी संस्थाको रूपमा हेर्नुपर्नेमा उल्टै अनावश्यक कानुनी र प्रशासनिक दुःख दिने काम भइरहेको छ,” अर्याल गुनासो पोख्छन्। उनका अनुसार बजारमा महँगी र करको दररेट लगातार बढिरहेको छ, तर त्यही अनुपातमा निजी स्कुलको शुल्क वैज्ञानिक रूपमा समायोजन गर्न पाइँदैन, जसका कारण गुणस्तर कायम राख्न ठुलो चुनौती थपिएको छ।
उनी सरकारसँग माग राख्छन्, “सरकारले निजी शिक्षा क्षेत्रका लागि एउटा प्रष्ट, पारदर्शी र दीर्घकालीन नीति बनाउनुपर्छ। राज्यलाई अर्बौँको कर बुझाउने र लाखौँ विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अब बदलाइनुपर्छ।”
२०५० सालमा शिशु कक्षाका ससाना नानीहरूलाई ‘क, ख, ग’ सिकाउने ती तन्नेरी शिक्षक आज सयौँ कर्मचारीका रोजगारदाता र हजारौँ विद्यार्थीका भविष्य निर्माता बनेका छन्। हिरालाल अर्यालको यो ३३ वर्ष लामो शैक्षिक यात्राले प्रमाणित गर्छ कि- यदि इच्छाशक्ति, सही भिजन र कडा परिश्रम हुने हो भने आफ्नै माटोमा पनि शिक्षाको माध्यमबाट ठुलो परिवर्तन ल्याउन सम्भव छ।




उज्यालो खबर

