×

नवलपुर – नवलपुरको गैँडाकोट-२ मा अवस्थित स्थापित शैक्षिक संस्था गैँडाकोट इङ्गलिस स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा  र कक्षा १२ को नतिजामा ऐतिहासिक सफलता हासिल गरेको छ । उत्कृष्ट नतिजासँगै विद्यालय दुवै तहमा नवलपुर जिल्लाकै अग्रणी (प्रथम) बन्न सफल भएको हो ।

विद्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, स्थापनाकालदेखि नै गुणस्तरीय, व्यावहारिक र मानवीय मूल्यमा आधारित शिक्षा दिँदै आएको यस विद्यालयले आफ्नो शैक्षिक उत्कृष्टताको परम्परालाई यो वर्ष पनि नयाँ रेकर्डसहित निरन्तरता दिएको छ ।

गत वर्षहरूमा जिल्लाभरिमा द्वितीय स्थान हासिल गर्दै आएको गैँडाकोट इङ्गलिस स्कुलले यस वर्ष SEE मा ऐतिहासिक फड्को मारेको छ । यस वर्ष विद्यालयका विद्यार्थीले उच्चतम ४.०० जीपीए  हासिल गरेका छन् ।

विद्यालयका अनुसार २६ जना विद्यार्थीले ३.६१ देखि ४.०० जीपीए र २२ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । यो उच्चतम र समग्र नतिजा जिल्लाकै उत्कृष्ट भएकाले विद्यालय नवलपुर जिल्लाबाट समेत सम्मानित भइसकेको छ ।

यसैगरी, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पनि विद्यालयले उत्कृष्ट नतिजा कायम गरेको छ । व्यवस्थापन  संकाय तर्फ यस विद्यालयका मेधावी छात्र समर्पण रेग्मीले ३.९२ जीपीए हासिल गरी नवलपुर जिल्ला प्रथम हुने गौरव प्राप्त गर्नुभएको छ ।

विद्यालयका अन्य उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूमा कृष्ण शर्मा (३.७२ जीपीए), योगेश रेग्मी (३.६६ जीपीए), आयुष थापा (३.६३ जीपीए), सनम वि.क. (३.६२ जीपीए) र सञ्जिना सापकोटा (३.६१ जीपीए) रहेका छन् । त्यस्तै, ११ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्मको उत्कृष्ट जीपीए ल्याएका छन् । विद्यालयको कक्षा १२ को समग्र नतिजा ८५ प्रतिशत रहेको प्राचार्य हिरालाल अर्यालले जनाउनुभएको छ ।

शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत यो विद्यालय अन्तर्राष्ट्रिय जगतको ख्यातिप्राप्त ‘आइ.एस.ए.अवार्ड’ बाट दुई पटक विभूषित भइसकेको छ । नेपाल सरकारबाट समेत यो विद्यालय ‘बालमैत्री र वातावरणमैत्री विद्यालय’ घोषित भइसकेको छ ।

विद्यालयले केवल किताबी ज्ञानमा मात्र सीमित नभई नेतृत्व विकास, अनुसन्धानमूलक सिकाइ, परियोजनामा आधारित शिक्षण , सूचना प्रविधिको प्रयोग, खेलकुद, कला र सङ्गीत जस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिँदै आएको छ ।

यस ऐतिहासिक सफलतापछि विद्यालयका प्राचार्यले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको निरन्तर मिहिनेत, अभिभावकहरूको अटुट विश्वास र शिक्षक-कर्मचारीहरूको समर्पणप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो ऐतिहासिक उपलब्धिका लागि सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सञ्चारमाध्यमप्रति आभार प्रकट गर्दछौँ । आगामी दिनमा पनि गुणस्तरीय, नवप्रवर्तनमुखी र जीवनोपयोगी शिक्षा प्रदान गर्दै सक्षम र नैतिकवान् नागरिक उत्पादन गर्ने हाम्रो अभियान अझ प्रभावकारी रूपमा अघि बढ्नेछ ।”

तपाईको प्रतिक्रिया