चितवन । लगातारको भारी वर्षाका कारण नारायणगढ-मुग्लिङ सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सो सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना अनुसार, लगातारको वर्षाले सडक खण्डका विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुन पुगेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यातायात सञ्चालनमा रोक लगाइएको हो।
प्रशासनले काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्तै, रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मार्ग हुँदै काठमाडौँतर्फ यात्रा गरिरहेका यात्रुहरूलाई अगाडि नबढ्न भनिएको छ।
सम्भावित जोखिम र सडक अवरोधलाई मध्यनजर गर्दै प्रशासनले यात्रु महानुभावहरूलाई आफ्नो यात्रा झोलामा खानेपानी, तयारी खाजा (Dry Food), प्राथमिक उपचारका औषधि, आवश्यक कपडा र मोबाइल चार्जर जस्ता अत्यावश्यक सामग्रीहरू अनिवार्य रूपमा साथमा राखेर मात्र हिँड्न सुझाव दिएको छ।
यात्राका क्रममा कुनै पनि समस्या वा आपतकालिन अवस्था आइपरेमा निम्न नम्बरहरूमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ:
-
नेपाल प्रहरी: १००
-
सशस्त्र प्रहरी बल: १११४
-
जिल्ला आपतकालिन केन्द्र (DEOC): १२३४
-
जिल्ला प्रहरी कार्यालय चितवन (सूचना अधिकारी): ९८५५०१३९९९



उज्यालो खबर

