×

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई सरकारले तत्काल थप उपचारका लागि भारत नलैजाने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूको सुझाव र उनको अस्थिर स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

यसअघि चिकित्सकहरूको प्रारम्भिक सुझावका आधारमा सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो। उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गर्नुका साथै भारतको विमानस्थलदेखि अस्पतालसम्म पुर्‍याउने बन्दोबस्त समेत मिलाइएको थियो। उनलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैं खटिएर रातभर नेपाल प्रहरी र ट्राफिक प्रहरी सडकमा परिचालन गरेका थिए। सरकारले उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने घोषणा गरिसकेको छ।

तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर र अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा थप जोखिम हुने चिकित्सकहरूले बताएका छन्। अवस्था स्थिर भएपछि मात्र भारत लैजान उपयुक्त हुने सुझाव आएपछि सरकार तत्कालका लागि पछि हटेको हो।

बिहीबार दिउँसो वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। उनको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ) खटिएका छन्।

हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवासहित २१ जनाको विशेष चिकित्सक टोली उनको जीवन रक्षाका लागि निरन्तर खटिएको छ। टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन विशेष औषधिहरू चलाइरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया