×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढी र डुबानले ३५ जनालाई विस्थापित बनाएको छ। सोमबार रातिदेखि बस्तीमा पानी पसेपछि प्रभावितहरू आफन्त तथा छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति करिब १० बजे गैँडाकोट नगरपालिका–४ स्थित जंगल क्षेत्र र नालाको पानी बस्तीमा पसेको थियो। बाढीका कारण भृकुटीचोक, बेल्डिहा, प्रगति टोल र झापर्दी टोल लगायतका क्षेत्रहरू बढी प्रभावित भएका छन्।

बाढीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा खटिएको २० जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्मको संयुक्त टोलीले स्थानीयको उद्धार गरेको थियो। प्रहरीका अनुसार वडा नम्बर ४ का ९ घरधुरीका ३५ जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीबाट हालसम्म कुनै मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।

यसैगरी, सोमबार राति ११ बजेतिर गैँडाकोट नगरपालिका–१५ मा पनि वर्षा र नालीको पानी बस्तीमा पसेको छ। बाढीका कारण वडा अध्यक्ष प्रेमराज तिमल्सिनाको घरको तल्लो तलामा राखिएको करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेर नष्ट भएको छ। सोही स्थानका स्थानीय सुदीप रानाभाटको घरमा पनि बाढी पस्दा लत्ताकपडा र खाद्यान्नमा क्षति पुगेको छ।

वडा नम्बर १५ को प्रभावित क्षेत्रमा अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरले प्रभावित क्षेत्रहरूमा थप क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया