×

गैँडाकोट – हातमा एउटा बलियो लौरो। आङमा पसिनाले भिजेको दौरा। उकाली-ओराली र भञ्ज्याङहरू छिचोल्दै गर्दा उनको मनमा एउटै हुटहुटी थियो– ‘यो भूगोलको अँध्यारो र गरिबीलाई जसरी पनि बदल्नुछ।’

यो दृश्य २०७४ सालको स्थानीय तह निर्वाचन ताकाको हो। गैँडाकोट नगरपालिका वडा नम्बर १८ का तिलबहादुर चितौरे जब पहिलोपटक चुनाव लड्न तम्सिए, तब गाउँको अवस्था निकै दयनीय थियो। न हिँड्ने ओभानो बाटो थियो, न साँझ परेपछि घर उज्यालो पार्ने बिजुलीबत्ती।

त्यतिबेला भोट माग्दै गाउँ पसेका तिलबहादुरलाई स्थानीय जनताले एउटै प्रश्न सोधेका थिए, “चुनाव जितेर गएपछि हाम्रा लागि के गर्नुहुन्छ ?”

त्यसबेला उकालीको सुस्केरा हाल्दै तिलबहादुरले जनताका सामु एउटा दृढ वाचा गरेका थिए– “मैले जितेर गएँ भने पहिलो प्राथमिकता बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिको विकास हुनेछ।”

लौरोको जगमा उभिएको विकास

आज समय बदलिएको छ। हिजो गाउँलेलाई दिएको त्यो आश्वासन केवल चुनावी नारामा मात्र सीमित रहेन। तिलबहादुर चितौरेले आफ्नो कार्यकालमा ती बाचाहरूलाई बिस्तारै यथार्थमा परिणत गर्दै लगेका छन्।

कुनै समय सडकको नामनिसान नभएको गैँडाकोट १८ मा अहिले सडक सञ्जाल जोडिएको छ। हिजो हिँड्नै मुस्किल पर्ने भीरपहरा खनेर बनाइएका बाटोहरू अहिले गाडी गुड्ने भएका छन्। “बाटोको काम त लगभग पूरा भयो,” वडा अध्यक्ष चितौरे गर्वका साथ भन्छन्, “अबको हाम्रो मुख्य लक्ष्य भनेको यी सडक सञ्जाललाई कालोपत्रे (पिच) गरेर अझ सुगम बनाउनु हो।”

बाटो मात्र होइन, हिजो मट्टितेलको दियो र टुकीको भरमा बस्ने यस वडाका बासिन्दाका घरघरमा अहिले केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती पुगिसकेको छ। साँझ पर्नेबित्तिकै अन्धकार बन्ने गाउँहरू अहिले झिलिमिली बनेका छन्।

नागरिकको स्वास्थ्यमा चासो: गाउँमै डाक्टर र निःशुल्क औषधि

“नागरिक स्वस्थ भए मात्र वडा समृद्ध बन्छ” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै वडा अध्यक्ष चितौरेले स्वास्थ्य क्षेत्रमा  विशेष ध्यान दिएका छन्। हिजो सामान्य उपचार र रगत जाँचका लागि पनि लामो र खर्चिलो यात्रा तय गरेर सहरका अस्पताल कुद्नुपर्ने यहाँका बासिन्दाका लागि अहिले वडा कार्यालय आफैँले गाउँमै विशेषज्ञ डाक्टरहरू ल्याएर स्वास्थ्य शिविरहरू सञ्चालन गर्न थालेको छ।

यी शिविरहरूमा सर्वसाधारणको जटिल रोगको पहिचानका लागि रगत परीक्षण (Blood Test) को सुविधा मिलाइएको छ भने बिरामीहरूलाई निःशुल्क रूपमा औषधि समेत वितरण गरिएको छ। आफ्नै घरआँगनमा डाक्टर भेट्न पाउँदा र रोगको उपचार हुँदा विशेषगरी वृद्धवृद्धा, महिला र बालबालिकाहरूले ठूलो राहत महसुस गरेका छन्। आफ्ना नागरिकहरू सधैँ निरोगी र स्वस्थ रहनुपर्छ भन्ने गहिरो चिन्ता र हुटहुटी बोकेका वडा अध्यक्ष चितौरेको यो मानवीय कार्यले स्थानीय स्तरमा निकै प्रशंसा बटुलेको छ।

कृषि र पर्यटनमा नयाँ फड्को: अब चिया बगानको नयाँ पहिचान

पहाडी भूगोल र कृषिमा आश्रित यहाँका स्थानीयका लागि वडा कार्यालयले ठूलो राहत दिएको छ। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्न वडाले किसानहरूलाई हाते ट्याक्टर वितरण गरेको छ। यस्तै, घण्टौँ हिँडेर कुटानी-पिसानीका लागि टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँमै मिलको व्यवस्था गरिदिएपछि स्थानीय महिलाहरूको कार्यबोझ निकै घटेको छ।

यति मात्र होइन, वडा नं. १८ लाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन कृषि र पर्यटनलाई एकसाथ जोडेर नयाँ ढोका समेत खोलिएको छ। वडाको रमणीय स्थान बसेनीमा अहिले होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ, जहाँ बाह्य तथा आन्तरिक पाहुनाहरूका लागि प्राकृतिक र सांस्कृतिक रूपमा उपयुक्त वातावरण तयार पारिएको छ।

यसै वर्षदेखि बसेनीको सुन्दरता र स्थानीयको आयआर्जनलाई थप मजबुत बनाउन चिया खेती समेत सुरु गरिएको छ। हरियाली छर्दै चियाका बिरुवाहरू बिस्तारै हुर्कँदै छन्। आगामी दिनमा यी चियाका बगानहरूले बसेनीलाई एउटा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने निश्चित छ। यहाँ आउने पाहुनाहरूले होमस्टेको न्यानो आतिथ्यतासँगै स्थानीय चिया बगानको दृश्यावलोकन गर्न पाउने भएकाले यसले वडाको समग्र पर्यटन विकासमा थप ठूलो टेवा पुर्‍याउने विश्वास गरिएको छ।

बदलिँदो चेतना र ‘विद्यालयसँग वडा अध्यक्ष’ को शैक्षिक सपना

भौतिक पूर्वाधारसँगै चेतनाको स्तर बदल्न पनि उत्तिकै आवश्यक हुन्छ भन्ने कुरा वडा अध्यक्ष चितौरेले राम्ररी बुझेका छन्। उनी भन्छन्, “पहिले बालबालिकालाई स्कुल पठाउने चलन कम थियो, तर अहिले आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना गाउँलेमा निकै विकास भएको छ। शिक्षाको क्षेत्रमा राम्रो सुधार भइरहेको छ।”

यही शैक्षिक चेतनालाई एउटा निश्चित स्वरूप दिन वडाले गत वर्षदेखि एउटा विशेष र प्रभावकारी कार्यक्रम सुरु गरेको छ- विद्यालयसँग वडा अध्यक्ष’।

यस कार्यक्रम अन्तर्गत वडा अध्यक्ष आफैँ विद्यालयहरू पुग्ने र त्यहाँको वास्तविक अवस्थाको प्रत्यक्ष अनुगमन गर्ने गर्छन्। विद्यालयको अवस्था र आवश्यकता हेरेर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा (Extra Classes) सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। दुर्गम भूगोलका कारण कोही पनि विद्यार्थी भोकै पढ्न बस्न नपरोस् र उनीहरूको स्वास्थ्य राम्रो होस् भन्नका लागि शिक्षक तथा विद्यार्थी दुवैलाई विद्यालयमै खानाको प्रबन्ध समेत मिलाइएको छ।

यसका साथै, विद्यालयको समग्र गुणस्तर सुधारका लागि आवश्यक शैक्षिक सामग्रीहरू समेत वडाबाटै वितरण गर्ने गरिएको छ। यो नविनतम प्रयासले वडाको शैक्षिक वातावरणमा ठूलो उत्साह थपेको छ।

आफ्नो यही शैक्षिक अभियानलाई थप उचाइमा पुर्‍याउन उनीसँग अब एउटा ठूलो योजना छ। वडाभित्रै माध्यमिक शिक्षा पूरा गरेपछि उच्च शिक्षाका लागि टाढाको सहर झर्नुपर्ने बाध्यता अन्त्य गर्न उनी आफ्नै वडामा कक्षा ११ र १२ को पढाई सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेका छन्।

अझै बाँकी छन् केही चुनौती

सफलताका अनेकन् कथाहरू बुनिरहँदा चुनौतीका पहाडहरू पूर्ण रूपमा पन्छिएका भने छैनन्। वडा अध्यक्ष चितौरे अझै पनि केही कामहरू अधुरै रहेको सहजै स्विकार्छन्।

विशेषगरी हुर्चिल गाउँमा खानेपानीको समस्या अझै पनि कायम छ। “केही ठाउँमा खानेपानी पुग्न बाँकी छ, हुर्चिलमा हालसम्म समस्या छ तर हामी यसलाई समाधान गर्न अहिले पनि निरन्तर पहल गरिरहेका छौँ,” उनले भने।

अर्कोतर्फ, जनतालाई सेवा दिने वडा कार्यालयकै आफ्नै पक्की भवन बन्न सकेको छैन। उपयुक्त जग्गा प्राप्तिको प्राविधिक समस्याका कारण भवन निर्माणको काम रोकिएको उनी बताउँछन्।

हिजो विकासको भोक बोकेको गैँडाकोट १८ ले आज एउटा जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा समृद्धिको बाटो पक्रिएको छ। हिजो लौरो टेकेर भोट माग्न हिँडेका तिनै तिलबहादुर चितौरे आज वडाबासीको सुखदुःखको सारथी बन्दै आफ्ना चुनावी बाचाहरू एक-एक गर्दै पूरा गरिरहेका छन्। हुर्चिलको खानेपानी र वडाको पक्की भवन बन्न बाँकी नै रहे पनि, ‘विद्यालयसँग वडा अध्यक्ष’ जस्ता सिर्जनशील कार्यक्रमले गैँडाकोट १८ को भविष्य साँच्चिकै उज्यालो बन्दै गएको स्पष्ट देखिन्छ।

तपाईको प्रतिक्रिया