×

काठमाडौं – भारत भ्रमणमा रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफ्नो राजनीतिक भेटघाट तीव्र पारेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार पाँचदिने भ्रमणका लागि दिल्ली पुगेका लामिछानेले १९ जेठदेखि औपचारिक भेटवार्ता सुरु गरेका हुन्।

भाजपा केन्द्रीय कार्यालय पुग्दा सभापति लामिछानेलाई परम्परागत झाँकी, सांस्कृतिक प्रस्तुति र फूलमालासहित भव्य स्वागत गरिएको थियो। लामिछानेको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा स्वागतार्थ होर्डिङबोर्डहरू समेत राखिएका छन्।

भ्रमणका क्रममा लामिछानेले भाजपाका नेता नीतिन नविनसँग महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गरेका छन्। भेटका क्रममा भाजपा नेताहरूले रास्वपा टोलीलाई आफ्नो पार्टीको संगठनात्मक संरचना, कार्यशैली र डिजिटल सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए।

रास्वपा सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपाल र भारतका दुई लोकतान्त्रिक शक्तिहरूबीचको आपसी सम्बन्ध सुदृढीकरण, दलगत अनुभवको आदानप्रदान र राजनीतिक सहकार्यका विविध पक्षमा छलफल भएको छ।

पाँचदिने भारत भ्रमणमा रहेका सभापति लामिछानेको टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपा सह-महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहरा र प्रदीप आचार्य सहभागी छन्। दिल्ली बसाइका क्रममा लामिछानेले त्यहाँ रहेका नेपाली समुदाय र रास्वपाका समर्थकहरूसँग विशेष अन्तरक्रिया गर्ने कार्यक्रम छ। राजनीतिक भेटघाट पश्चात् उनी धार्मिक भ्रमणका लागि अयोध्या समेत प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

तपाईको प्रतिक्रिया