पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा अवस्थित बुलिङटार गाउँपालिकामा यतिबेला नयाँ उत्साह छाएको छ। स्थानीय तह गठन भएको झण्डै ९ वर्षपछि गाउँपालिकाको आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण कार्यले तीव्र गति लिएको छ। जिल्लाका अन्य पालिका यसअघि नै आफ्नै भवनमा सरिसकेको अवस्थामा ढिलै भए पनि बुलिङटारले आफ्नै जगमा विकासको नयाँ इँटा थप्न लागेको हो।
गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीका अनुसार भ्याटसहित कुल २ करोड ९५ लाख ८८ हजार ८७४ रुपैयाँको लागतमा यो गौरवको आयोजना अगाडि बढेको हो। भवन निर्माणको जिम्मेवारी प्रतिष्ठित कैलाङ निर्माण कम्पनी, टोखाले पाएको छ।
समस्यालाई चिर्दै विकासको नयाँ फड्को विगतमा पर्याप्त जग्गा नहुनु र जग्गा प्राप्तिका कानुनी प्रक्रियाहरू मिलाउनुपर्ने बाध्यताका कारण भवन निर्माणमा केही ढिलाइ भएको थियो। २०८० सालदेखि नै सुरु गरिएको प्रयासले अनेकन् प्राविधिक चुनौतीहरूलाई चिर्दै अन्ततः पूर्णता पाउन लागेको छ। आफ्नै भवन नहुँदा हाल मासिक ३० हजार रुपैयाँ भाडा तिरेर छरिएका कार्यालयहरू चलाउनुपर्ने र सेवाग्राहीले सास्ती भोग्नुपर्ने बाध्यताको अब सदाका लागि अन्त्य हुने भएको छ।
एक वर्षभित्रै ठडिनेछ आधुनिक संरचना अहिले चलिरहेकै अस्थायी कार्यालयको छेउमा नयाँ भवन निर्माण भइरहेको छ। २०८२ कार्तिकमा ठेक्का सम्झौता भएर सुरु भएको कामले छोटो समयमै राम्रो गति लिएको छ र हाल भुइँ ढलान (DPC) सम्मको कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ।
आगामी २०८४ वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने दृढ लक्ष्यका साथ काम अघि बढेको यो भवन ट्रससहित चार तलाको हुनेछ। यसमा १८ वटा आधुनिक कोठाहरू र एउटा ठूलो हल रहनेछ।
नयाँ भवन बनेपछि सबै सरकारी सेवाहरू एउटै छानामुनिबाट थप व्यवस्थित, सहज र छिटोछरितो रूपमा उपलब्ध हुनेछन्, जसले गर्दा स्थानीय नागरिकहरूले स्थानीय सरकारको वास्तविक अनुभूति अझै नजिकबाट गर्न पाउनेछन्।



उज्यालो खबर




