काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षाको कलेजअनुसारको नतिजा विवरण सार्वजनिक गरेको छ। काउन्सिलले जेठ १९ गते सार्वजनिक गरेको तथ्यांक अनुसार यसपटक समग्रमा एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यसपटकको परीक्षामा चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) ले एमबीबीएसतर्फ देशकै सर्वोत्कृष्ट नतिजा निकाल्दै बाजी मारेको छ।
सीएमसीबाट एमबीबीएस परीक्षामा सहभागी कुल ५८ जना विद्यार्थीमध्ये ५४ जना उत्तीर्ण भएका छन्। ९३.१० प्रतिशत उत्तीर्ण साखसहित सीएमसी शीर्ष स्थानमा रहँदा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत (७७ मध्ये ७१ उत्तीर्ण) सहित दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ८९.७७ प्रतिशत (८८ मध्ये ७९ उत्तीर्ण) सहित तेस्रो स्थानमा रहेका छन्।
यस्तै केयू स्कूल अफ मेडिकल साइन्सेज ८८.७३ प्रतिशत, गण्डकी मेडिकल कलेज ८६.२७ प्रतिशत, नेपालगञ्ज मेडिकल कलेज ८५.७१ प्रतिशत र नेपाल मेडिकल कलेज ८५.२५ प्रतिशत नतिजासहित क्रमशः अगाडि छन्। महाराजगञ्ज मेडिकल क्याम्पसबाट ८३.९३ प्रतिशत, काठमाडौँ मेडिकल कलेजबाट ७८.७९ प्रतिशत र लुम्बिनी मेडिकल कलेजबाट ७८.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भई शीर्ष १० भित्र पर्न सफल भएका छन्।
उता बीडीएस (दन्त चिकित्सा) तर्फ भने पोखराको गण्डकी मेडिकल कलेजले ऐतिहासिक सफलता हात पारेको छ। गण्डकीबाट परीक्षामा सामेल भएका १२ जनामा १२ जना नै उत्तीर्ण भई कलेजले १०० प्रतिशत नतिजा निकालेको छ। बीडीएसतर्फ नेपाल मेडिकल कलेज ९७.३७ प्रतिशतसहित दोस्रो र केयू स्कूल अफ मेडिकल साइन्सेज ९५.३५ प्रतिशतसहित तेस्रो स्थानमा छन्।
एमबीबीएसमा देशकै पहिलो बनेको चितवन मेडिकल कलेज (सीएमसी) बीडीएसतर्फ पनि ८८ प्रतिशत (२५ मध्ये २२ उत्तीर्ण) नतिजासहित उत्कृष्ट कलेजहरूको सूचीमा अटाएको छ। बीडीएसतर्फै महाराजगञ्ज मेडिकल क्याम्पसको ९५.२४ प्रतिशत, काठमाडौँ मेडिकल कलेजको ९२.६८ प्रतिशत, कलेज अफ मेडिकल साइन्सेजको ९०.३२ प्रतिशत, किष्ट मेडिकल कलेजको ८८.८९ प्रतिशत, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ८७.१८ प्रतिशत र कान्तिपुर डेन्टल कलेजको ८५.३७ प्रतिशत नतिजा रहेको छ।
काउन्सिलको यो नतिजाले नेपाली चिकित्सा शिक्षामा काठमाडौँ उपत्यकाबाहिरका मेडिकल कलेजहरूको शैक्षिक गुणस्तर निकै बलियो र उत्कृष्ट बन्दै गएको देखाएको छ, जसमा एमबीबीएसतर्फ सीएमसीको प्रदर्शन सबैभन्दा सुखद देखिएको छ।





उज्यालो खबर




