×

गैँडाकोट- पारिजात आमा समूहको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले तारा शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा हेमा घर्ती मगर, सचिवमा सरस्वती अधिकारी, कोषाध्यक्षमा सीता कडेल, सहसचिवमा कविता कंडेल तथा सह–कोषाध्यक्षमा सविता सुवेदी चयन हुनुभएको छ। सदस्यहरूमा पार्वती ठकुरी , उषा पाण्डे, विष्णु गहतराज, विमला दाहाल, सन्जु ढकाल र तुलसी पौडेल रहनुभएको छ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता समूहका अध्यक्ष मनु ढुंगानले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गैँडाकोट नगरपालिकाकी कार्यपालिका सदस्य शान्ति न्यौपाने उपस्थित रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले आमा समूहहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले महिलाको सशक्तिकरण, सामाजिक एकता र विकास निर्माणका काममा आमा समूहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नव–निर्वाचित अध्यक्ष तारा शर्माले समूहप्रति देखाइएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालमा आमा समूहलाई थप सक्रिय, अनुशासित र समाजसेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो। उहाँले महिलाको क्षमता विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।

कार्यक्रमको अवसरमा पारिजात टोल विकास संस्थाभित्र रहनु भएका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया