
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।
पाण्डेको गीतमा महानायक हमालसँगै हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको महाराजजीले बताए ।उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रदेशमा पनि कोटीहोम गर्ने बताए ।
उक्त अवसरमा महानायक हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । कोटिहोम दर्शन गर्दै गर्दा उपस्थित भक्तजन उत्साहित भएको पाएको भन्दै उनले सत्मार्गतर्फ लाग्न सके जीवनले सार्थकता पाउने स्पष्ट पारे । कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै उनले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न आज पनि भक्तजन ओइरिएका छन् । आज सोमबार पटकपटकको वर्षा तथा सार्वजनिक यातायात बन्द हुँदासमेत दुई लाख ५० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले दावी गरेको छ ।
कोटीहोममा हालसम्म २० लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले भने, ‘आज पटकपटक वर्षा भयो, यातायात बन्दको बन्द छ, तर पनि भक्तजन ओइरिए ।’