गैँडाकोट- गैँडाकोटनगरपालिकाका १८ नं. वडाले आज देखी योजना छनोटका लागि टोल भेला सुरु गरेको छ । आर्थिक बर्ष २०८२/८३ का लागि बार्षिक निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने उद्देश्य अनुरुप वडामा टोल भेला आजबाट सुरु गरिएको हो ।वडा कार्यालयले एक सूचना जारी गर्दै यहि बैशाख ३० गतेको वडा समितिको बैठकले बस्ती तथा टोल भेला गर्ने निर्णय गरेको जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैशाख मसान्त सम्म बस्ती तथा टोल स्तरबाट र त्यसपछि वडाहरुबाट आयोजना र कार्यक्रमको छनौट गर्नुपर्ने प्रावधान अनुार पनि भेला आयोजना गर्न लागिएको छ ।आजदेखी सुरु गरिएको बस्ती तथा टोल भेला ७ गते सम्म सञ्चालन हुने र सो पश्यात वडा भेला हुने वडा सचिव रामु पौड्यालले बताउनुभयो ।
वडा अध्यक्ष तिल बहादुर चितौरे मगरले टोलको वास्तविक आवश्यकता समस्या र त्यसको समाधानको लागि एवम वडाका कार्यक्रममा भुईमान्छेका समस्यालाई समेट्न को लागि यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।वडाले कार्यतालिका बनाएर चोक,टोल र बस्तीमा भेलाको आयोजना गरिरहेका छन् ।
टोलबाट योजना छनोट गरिएपछि वडा तथा शाखास्तरीय योजना प्राथमिकीकरण गर्ने गरिन्छ । योजना प्राथमिकरण पछि बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा तयार गरिन्छ । एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरेपछि नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने प्रावधान रहेको छ ।



उज्यालो खबर




