गैँडाकोट – नवलपुरको गैँडाकोट नगरपालिकाले नगर भित्रका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यसाथ ५० प्रतिशत अनुदानमा २८,००० किलो उन्नत जातको धानको बिउ वितरण गरेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ लाख रुपैयाँ बजेट विनियोजन गरी यो कार्यक्रम कार्यान्वयन गरिएको हो ।
नगर क्षेत्रका ४२ वटा कृषक समूहलाई सावा, रामधान, साबित्री, राधा–४, हर्दिनाथ–१, हर्दिनाथ–६ लगायतका उन्नत जातका धानको बिउ वितरण गरिएको नगरपालिकाका कृषि अधिकृत राजुप्रसाद शर्माले बताउनुभयो ।उहाँले किसानहरूको उत्पादनमा वृद्धि ल्याउन र उन्नत प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगर अगाडि बढिरहेको उल्लेख गर्नुभयो । “कृषक समृद्ध भए मात्र समृद्ध नगरको परिकल्पना सम्भव हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले हामी कृषि क्षेत्रमै लगानी बढाइरहेका छौँ । ”
प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषक समूहहरूसँग प्रत्यक्ष समन्वयमा बिउ वितरण गरिएको छ, जसले उनीहरूको सहभागिता र विश्वास बढाएको छ।”
नगरपालिकाले आगामी वर्षहरूमा कृषकको आवश्यकता र मागअनुसार अझै प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाएको जनाएको छ ।



उज्यालो खबर




