
-टुक प्रसाद काफ्ले
भरिया निरन्तर गन्तव्यलाई पछ्याई रहन्छ
भारी बिसाउने निस्चित ठाउँ हुन्छ
जतिनै कष्ट होस घुँडो मुन्टो धसिरहन्छ
आफ्नो श्वास र पाइलाको गति
निरन्तर मिलाई रहन्छ
को आयो? को गयो? उसलाई के थाहा
बरु लौरोनै सहयात्री बनाईदिन्छ।।
तिमी मेरो चौतारी हौ
सबै मनका बह बिसाउने
तिम्रो छहारीले
सितलता छाउँछ
पिपलपाते ओठबाट बहने
मन्द मन्द बायुले
मनै आनन्दित तुल्याउँछ
तिम्रो कोमलताले
मन नौनी बनिदिन्छ
तिम्रो सामिप्यताले
झनै प्रफुल्लित बनाउँछ
तिम्रो समर्थनले
नयाँ उर्जा थपिदिन्छ
तिम्रो साथ र सहयोगले
थप भारी बोक्न सक्ने
आँट, भरोसा र साहस बढाईदिन्छ।।
तिम्रो हौसलाले पिठ्यु
चट्टानझै अडिग हुन्छ
काँध धुरी खामो भैदिन्छ
गोडा घोडाको टाप बनिदिन्छ
मन चङ्गाझै उडिदिन्छ
कल्पना पाईलट बनिदिन्छ
सपना लँका पुगिदिन्छ।
तर परिचय भरिया दाई भैरहनेछ।
सर्जक टुक प्रसाद काफ्ले (2k अजीव) गैंडाकोट नगरपालिकामा कार्यरत हुनुहुन्छ।