×

बिर्तामोड । नेपाल आइडल सिजन ५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ । बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’को घोषणा गर्दै उनलाई भोट गर्न अपिल गरिएको हो । इशाका दाइ बिराज सुवेदीको संयोजकत्वमा विभिन्न संघसंस्था तथा व्यक्तिहरु सम्मिलित ‘इशा सुवेदी जिताऔं अभियान’को थालनी गरिएको हो ।

कार्यक्रममा अभियानका संयोजक सुवेदीले सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशा सबैको मायाले हाल नेपाल आइडल सिजन ५ को उत्कृष्ट ९ मा पुगेकाले अझबढी सहयोगको अपिल गरेको बताए् । प्रतियोगिता जित्न कलासँगै भोटको पनि उत्तिकै आवश्यक पर्ने भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा गीतसंगीतप्रेमीलाई भोट गर्न सुवेदीले अपिल गरेका छन् ।

कार्यक्रममा बिर्तामोड क्षेत्रका युवा तथा संगीतकार प्रकाश लिङ्देनले गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी इशालाई नेपाल आइडलमा जिताएर कला क्षेत्रमा स्थापित गराउन सबैले सहयोग गर्न आग्रह गर्नुभयो । कोशी प्रदेशबाट एकमात्र प्रतियोगी इशालाई जिताउन देशैभरबाट सबैको साथ सहयोग आवश्यक रहेकाले उनले उल्लेख गरे । यस्तै, सनलाइट म्युजिक विद्यालयकी सञ्चालिका तथा संगीत प्रशिक्षक हेमा भण्डारी योञ्जनले गायन क्षेत्रमा इशाले राम्रो सम्भावना बोकेको बताइन् ।

उनलाई जिताउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । संगीतप्रति रुचि र लगाव भएकी इशाले सनलाइट संगीत विद्यालयमा प्रशिक्षण लिएकी थिइन् । बिर्तामोड निवासी इशा स्नातक तहकी विद्यार्थी हुन् । सानैदेखि गीत गाउन रुची राख्ने इशाले यही क्षेत्रमा स्थापित हुने सोच बनाएकी छन् । उनलाई जिताउन १५ सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले प्रचारप्रसार र भोटिङका लागि अपिलसँगै गीत-संगीतप्रेमीसँग स्वेच्छिक आर्थिक सहयोगसमेत सकंलन गरिरहेको छ । इशालाई ई-सेवा, प्रभु पे र विदेशबाट मोःमो एपबाट ०२ भोटिङ कोड राखेर भोट गर्न सकिन्छ । एसएमएसमार्फत ०२ टाइप गरी ३७००० पठाएर पनि भोट गर्न सकिन्छ । अघिलो चरण प्रवेशका लागि शनिबार बेलुकाबाट नै भोटिङ सुरु भएको छ भने मंगलबारसम्म भोट गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया