चितवन । आदिवासी जनजातिको भाषा, संस्कृति प्रवद्र्धन गर्न नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गरिने भएको छ ।महोत्सव मूल समारोह समितिले आज पत्रकार सम्मेलन गरेर आदिवासी जनजाति महासंघको आयोजनामा आगामी चैत ९ गतेदेखि १८ गतेसम्म महोत्सव हुन लागेको जानकारी दिएको हो ।
भरतपुर भ्रमण वर्ष–२०२४ लाई लक्षित महोत्सवमा ३०० प्रदर्शनी कक्ष रहने महासंघ चितवनका अध्यक्ष एवम् मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिए । उनले भने ‘यस संस्थाले भरतपुर महानगरपालिका वडा नम्बर ११ नौरंगेमा २५ धुर जग्गा खरिद गरी आफ्नै भवन निर्माण गरेको छ । अझै पनि भवन पूर्णरुपमा सम्पन्न हुन सकेको छैन । महोत्सवको आम्दानीले भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा छ ।
आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षणमा सहयोग पुग्ने महोत्सवले भरतपुर भ्रमण वर्षको प्रबद्र्धनमासमेत टेवा पु¥याउने लक्ष्य लिएका छौँ ।” दैनिकजसो १७ वटा जातीय सांस्कृतिक प्रदर्शनी हुने महोत्सवमा ३०० व्यवसायिक स्टल रहने लक्ष्य राखिएको छ । जसबाट ८० लाख रुपैयाँ खर्च र करिब एक करोड रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मूल समारोह समितिका संयोजक दूराका अनुसार चितवनमा ४० प्रकारका ४६ प्रतिशत आदिवासी जनजाति समुदायको बसोबास रहेको छ । तीन लाख ३२ हजार भन्दाबढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
चितवनमा थारू, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरूङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बराम लगायतका जनजाति छन् । चितवनमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।