×

खैरहनी । खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुवात गरेको छ। बिपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिका भित्र बिभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो । आज खैरहनी नगरपालिका वडा नं ८ स्थित मगनी टोलमा गृहकार्य कक्षाको सुरुवात गर्दै नगर प्रमुख शशीकुमार खनियाले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सिक्ने अवसर प्रदान गरिएको जानकारी दिए।

नगरपालिका भित्रका बिभिन्न २८ स्थानमा सञ्चालन हुने गृहकार्य कक्षामा विपन्न परिवारका ७८४ जना बालबालिकालाई सहभागी हुने नगर प्रमुख खनियाले बताए। ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्ने छन् । कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्नेछ। उनले भने, “ बालबालिकको पहिलो विद्यालय भनेकै आफ्नो घर हो । बिपन्नताको कारण अभिभावकले बालबालिकालाई समय दिन नसक्ने अवस्थालाई सम्बोधन गर्दै बालबालिकालाई पढने वातावरण सृजना गर्न हामीले गृहकार्य कक्षा सञ्चालन गर्न लागेका हौँ ।” घरमा पढ्ने ठाउँसमेत व्यवस्थित नभएका बस्तीमा कार्यक्रम सञ्चालन गरिने र यसले पढ्ने बानीको विकास गराउने प्रमुख खनियाको विश्वास व्यक्त गरे।

गृहकार्य कक्षा सञ्चालन गर्ने शिक्षकहरूले बालबालिकालाई बिद्यालयबाट प्रदान गरिएको गृहकार्य गर्न र बालबालिकालाई अप्ठ्यारो लाग्ने बिषय सिकाउन सहयोग गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख कविता उप्रेतीले उल्लेख गरिन। नगर उप प्रमुख उप्रेतीले गृहकार्य कक्षामा सहभागी हुने बालबालिकालाई नगरपालिका बाहेक अन्य क्षेत्रसँगको समन्वय गरेर शैक्षिक सामग्री समेत वितरण गर्ने योजना रहेको बताईन।
नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालन गरेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया