कालिका। भरतपुरमा महिलाहरुले सञ्चालन गरेको संस्था स्पन्दन नेपालले आइतबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने लोतंतीमा रहेको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ ।
स्पन्दनले आठ वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा र स्टेशनरी दिँदै आएको छ ।तीन कक्षासम्म पढाइ हुने लोतंतीको श्री आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई स्पन्दनले न्यानो कपडा हुडी र सुरुवाल सेट तथा कापी, सिसाकलम, इरेजर लगायतका सामान वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कालिका-१० का वडाध्यक्ष महेन्द्र प्रजाले यस्ता सहयोगी संस्थाहरुको साथ पाए चेपाङ गाउँ र चेपाङ समुदायको विकास हुन समय नलाग्ने बताए । उनले भने -हामी जस्तो आर्थिक रुपमा विपन्न चेपाङहरु पनि खान र लाउन पाए परिवर्तन हुने रहेछौँ नि ।उनका कारुणिक शब्दले सबैका गह भरिएका थिए । उनले भने -चेपाङ गाउँको शैक्षिक क्षेत्रमा यसैगरी सहयोगी हातहरु फैलियो भने चेपाङहरु पनि आफ्नो गुणस्तरीय जीवन जिउन सक्षम हुनेछन् ।
स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले आर्थिक रुपले विपन्न परिवारका बच्चाहरुसंग खुशी साट्न पाएकोमा आफू हर्षित भएको बताइन् । आज हामी यस्तो ठाउँमा आएर सहयोग गर्न पायौँ जहाँ बालबालिका भन्दा पनि स्पन्दन नेपाल खुशी छ । हामी खुशी छौँ । यहाँको कारुणिक दृश्यले साँच्चै सहयोगको आवश्यकता रहेको महसुस भयो । उनले भनिन्- हामीले हाम्रो व्यक्तिगत खर्च र भान्सामा मितव्ययिता अपनाएर बचत गरेको रकमले सहयोग गरेका हौँ । सबैको साथ पाएमा अझै सहयोग गर्न सकिन्छ । पहिलो चरणमा न्यानो कपडा र स्टेशनरीका सामान वितरण गरेको स्पन्दन नेपालको फेरि यहि जाडोमै जुत्ता लिएर लोतंती जाने योजना रहेको पनि अनिताले जानकारी दिइन् ।
स्पन्दन नेपालका शुभेच्छुक तथा समाजसेवी हिरामणी अधिकारीले कालिका नगरपालिकाको विकट गाउँमा सहयोग लिएर आएकोमा स्पन्दन नेपालको प्रशंसा गरेका थिए । उनले भने -प्रार्थना गर्ने ओठ भन्दा सेवागर्ने हातहरु नै उत्तम हुन्छन् । अधिकारीले सहयोग गर्दा विकट गाउँको लक्षित वर्गलाई लक्षित गरेकोमा आफू खुशी रहेको बताए । उनले उदाहरण दिँदै भने – भारतका मोदी, अम्बानी, नेपालका डा.बाबुराम भट्टराई जस्ता होनहार र दूरदर्शी व्यक्तीहरु यस्तै विकट र अफ्ट्याराबाट उदाएका हुन् । त्यसैले यस क्षेत्रका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दछु ।
विद्यालयका प्रधानाध्यापक भिमबहादुर तामाङले यस किसिमको सहयोगले चेपाङ समुदायको उत्थानमा ठूलो भूमिका रहने बताए । तामाङले भने – जाडोले गर्दा विद्यार्थीहरु स्कुल आउनै नसक्ने अवस्था थियो । अब त विद्यार्थीहरु नियमित आउँछन् । सहरी र सुविधायुक्त ठाउँभन्दा निकै पर रहेको लोतंतीमा आएको यो सहयोग निकै महत्वपूर्ण भएको प्रधानाध्यापक तामाङले बताए । उनले विद्यालयमा शिक्षकहरुको पनि आवश्यकता रहेको औंंल्याएका थिए ।
यस श्री आधारभूत विद्यालयमा जम्मा दुई जना शिक्षक र एकजना सहयोगी सहजकर्ता छन् । त्यसमा पनि प्रधानाध्यापक तामाङ मात्रै प्रावि स्थायी शिक्षक हुन् । अर्की शिक्षिका सुस्मा गुरुङ राहत अस्थायी हुन् । विद्यालयमा शिशु कक्षा ९भ्ऋम्० मा २४ जना, एक कक्षामा ११ जना, दुईमा ११ जना र कक्षा तीनमा १४ जना गरी ६० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालको सभापतित्वमा भएको कार्यक्रममा स्पन्दन नेपालका कार्यसमिति सदस्यहरु, कालिका-१० का वडाध्यक्ष, विद्यार्थी, अभिभावक शिक्षकशिक्षिका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्पन्दन नेपालकी सचिव बिमला दहालले गरेकी थिइन् ।



उज्यालो खबर




