बद्री अर्याल
चितवन । चितवनको दिब्यनगरमा पाईने विश्वका दुर्लभ चरा संरक्षणमा वडा नं. २६ र यहाँका संरक्षणकर्मी जुटेका छन । दिब्यनगर खेत बारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ । पहिले प्रशस्त संख्यामा पाईने चराहरु अहिले लोप हुन थालेर संरक्षणकर्मीहरु चरा संरक्षण र संख्या बढाउने अभियानमा लागेका छन ।चितवन गाईड एसोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं वन्यजन्तु संरक्षणकर्मी मनिस लिम्बुको संयोजकत्वमा चरा संरक्षणमा अभियानको सुरु गरिएको हो ।
सोही अवसरमा आज सोमबार भरतपुर महानगर वडा नं. २६ अगाडि लोपोन्मुख हुँदै गएको ३६ प्रकारका चराहरुको सुचि बनाएर बोर्ड राखिएको छ । चरा संरक्षणको लागि वडा नं.२६ ले आर्थिक सहयोग गरेको छ । बोर्ड उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष ज्ञानप्रसाद खनालले संरक्षणकर्मी सक्रिय भएर लागे सहयोग थप्दै लैजाने बताउनुभएको छ ।

कार्यक्रममा नेपाल पन्छी बिद् संघका सदस्य (चरा विज्ञ) हठन चौधरीले लोपोन्मुख चराको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले साईबेरिया, कजाकिस्तान, मङगोलिया, तिब्बत जस्ता मुलुकबाट नेपालमा दुर्लभ चराहरु आउने गरेको बताउनुभयो । सोही अवसरमा चौधरीले नेपालमा पाईने चराहरुको विस्तृत जानकारी सहितको चराहरु नामक पुस्तक वडा अध्यक्ष खनाललाई हस्तान्तरण गर्नुभएको छ ।
लिम्बुका अनुसार दिब्यनगर फाटमा बगाले बगेडी, भुडिफोर गरुड, जिबाहर महाचिल, लघु महाचिल, काग भाले सुगा, सेतो कन्ठे गडुर, गोमायु महाचिल जस्ता लोपोन्मुख चराहरु पाईन्छ ।



उज्यालो खबर




