
चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि समाजसेवी एवम् विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले आर्थिक सहयोग गरेका छन् ।चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि त्रिकोण एड्भरटाइजिङ प्रालि काठमाडौंका प्रबन्ध निर्देशक अर्यालले २५ हजार रुपैयाा आर्थिक सहयोग गरेका हुन् ।
विगत ४० वर्षदेखि विज्ञापनको क्षेत्रमा काम गर्दै आएका अर्याल विगत ७ बर्षदेखि चितवनका सामाजिक क्षेत्रमासमेत जोडिएर विभिन्न गतिविधिमा सहभागी हुँदै आएका छन् । भरतपुरको सिजी ल्याण्डमार्कको व्यवस्थापनदेखि पूरानो मेडिकल कलेज भरतपुरको मिडिया क्षेत्रमा काम गर्दै आएका अर्यालले चितवनमा नै पत्रकारहरुको भवन बन्दा आफूलाई खुसी लागेको बताए ।
उनले पत्रकारहरुको क्षमता अभिवृद्धि र संस्थागत विकासमा भवनले टेवा पुग्ने विश्वास आफूले लिएको बताए । चितवन पछिल्लो समयमा राजनीति, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको हब बन्दै गएको भन्दै अर्यालले पत्रकारहरु पनि सोही अनुसारको दक्ष र प्रभावकारी हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । उनले प्रेस चौतारीको देश कै पहिलो भवन भरतपुरमा नै बन्नु देशभरका पत्रकारहरुका लागि गर्वको विषय भएको बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले मिडिया क्षेत्रसँग जोडिएर लामो समयदेखि कार्य गर्दै आएका अर्यालको सहयोगले थप हौसला थपिएको बताए । अर्यालले विगतमा पनि सञ्चार सम्वद्ध संघसंस्थाहरुलाई माया र हौसला दिँदै आएको स्मरण गर्दै अध्यक्ष पण्डितले भवनमा विभिन्न क्षेत्रबाट प्राप्त भएको सहयोग प्रति आभार व्यक्त गर्दै आफूहरु उत्साहित भएको बताए । भरतपुर–११ बसेनीमा रहेको ९ धुर जग्गामा चौतारी चितवनको भवनको काम भइरहेको छ ।
भवनको दोस्रो तला ढलानको अन्तिम तयारी गरिएको छ । पहिलो तला भित्र फिनिसिङको काम भइरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।