चितवन । चितवनका क्रियाशील पत्रकार एवम् प्रेस सेन्टर बागमती प्रदेश कमिटीका सचिव सन्तोष देवकोटाले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई आर्थिक सहयोग गरेका छन् ।
देवकोटाले भवनका लागि १० हजार १ सय ११ रुपैयाँ जन्मदिनको अवसर पारेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्रण गरेका हुन् ।
चितवनको दैनिक पत्रिका लोकतन्त्र सन्देशका सञ्चालकसमेत रहेका पत्रकार देवकोटाले चितवनमा प्रेस चौतारीको देश कै पहिलो भवन बन्न लागेकोमा आफूलाई खुसी लागेको भन्दैं भवन निर्माणमा आफू पनि सहभागी हुने उद्देश्यले सहयोग गरेको बताए । उनले पत्रकारहरुको संघसंगठनहरु संस्थागत हुँदा त्यसको प्रत्यक्ष लाभ पत्रकारहरुलाई नै मिल्ने भएकोले यस्ता भवनहरु बन्नु गौरवको विषय भएको बताए । भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको पत्रकार देवकोटाको भनाई छ ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पन्तलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । उनले देवकोटाले प्रेस चौतारी प्रति दर्शाएको माया र सद्भाव आफूहरुका लागि समेत अनुकरणीय रहेको बताए । जन्मदिनमा भवन निर्माणका लागि सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, पत्रकार महासंघ चितवनका सल्लाहाकार तिलकराम रिमाल, पत्रकार राजेश घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको अन्तिम तयारी गरिएको छ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ ।
भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।