
चितवन । राप्ती नदी संरक्षण दिवस मंसिर हरेक वर्ष को १ गते मनाईने भएकोछ। मकवानपुरको हेटौंडाबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघट सम्म बग्ने राप्ती नदीको संरक्षण र सरसफाई अभियानको प्रेरणाको लागि यो दिवस मनाउन लागिएको हो ।राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवन ले संरक्षण सम्बद्ध सबै निकाय र स्थानीय तह सँग समन्वय गरी दिवस मनाउन तयारी थालेको छ।
अति संकटापन्न घडियाल गोही,दुर्लभ ओत,विभिन्न प्रजातिका रैथाने तथा आगन्तुक चराहरू,कछुवा, माछा लगायतका जलचर प्राणीहरूको आश्रय स्थल रहेको राप्ती नदीमा प्रदुषण बढे पछि नदी तटीय क्षेत्र सरसफाई थालनी गरिएको अभियानका संयोजक अपिल घिमिरेले बताउनु भयो। २०७३ साल माघ २३ गते बाट सरसफाई कार्यक्रम शुरू गरे पनि अभियान कै रूपमा २०७५ साल मंसिर एक गते बाट सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको घिमिरेले बताउनु भयो।
२०७५ मंसिर एक गते प्रदेशका माननीय सांसद,स्थानीय तहका जन प्रतिनिधि, राजनीतिक दल,मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, उपभोक्ता समिति नेपाल प्रहरी,देश भरका बिभिन्न स्थानमा सञ्चालित नदी संरक्षण अभियन्ता, शिक्षक, सञ्चारकर्मी, वित्तीय संस्था,स्काउट शिक्षक परिवार, बिद्यार्थी,संरक्षण कर्मी लगायत को उपस्थितीमा अभियान थालिएको थियो।
राप्ती नदी संरक्षण दिवस को अवसरमा नदी अधिकार को बारेमा छलफल हुने घिमिरेले बताउनु भयो। गत वर्ष भरि सञ्चालन गरिएका सरसफाई कार्यक्रमका बारेमा प्रस्तुति साथै आगामी दिनमा निकुञ्ज,नदी, वन र तालतलैया मा हुने प्रदुषणका विरुद्ध लड्न अभियानको दायरा बढाउने बारे छलफल गरिने उहाँको भनाई रहेको छ।
हरेक पक्षको निरन्तर सहभागितामा राप्ती नदी संरक्षण र सरसफाई अभियान सञ्चालन गरिएको ४४२ अंक पुगि सकेको छ । अभियानका क्रममा नदी तथा वन क्षेत्रबाट हालसम्म अठार हजार केजी प्लाष्टिक,सिसा, रवर ,कपडा,किला काँटी लगायतका फोहोर संकलन र व्यवस्थापन गरिएको छ।