×

चितवन । विभिन्न आश्रम तथा सामाजिक संघसंस्थाहरुमा असहाय, अशक्त, सहयोगापेक्षीहरुलाई खाना खुवाएको र अन्य विभन्न सहयोग गरेको त तपाईंले सुन्दैरदेख्दै आउनु भएको छ । तर, चितवनका एक व्यक्तिले भने ६ वर्षदेखि प्राकृतिक बासस्थानमा रहेका पशुपन्छीलाई आहारा खुवाइरहेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क बस्ने चन्दन अग्रवालले विगत ६ वर्षदेखि देवघाट क्षेत्रमा बेवारिसे बनाएर छाडिएका गाई गोरु र ककुरलाई मात्र नभई बाँदर र परेवाहरुलाई दैनिक रुपमा आहारा खुवाउँदै आएका छन् । विभिन्न सामाजिक कार्यमा समेत सक्रिय चन्दनलाई यस्ता जनावर र पशुपन्छीलाई खाना खुवाउँदा निकै आनन्द लाग्छ ।

हरेक दिन साँझ ५/६ बजेतिर उनी चना, मकै, गहुँ, बोडी, केराउ भिजाउँछन् । अनि भोलिपल्ट झुल्के घामसँगै गाडी लिएर देवघाटको बागेश्वरी क्षेत्र जान्छन् र त्यहाँ रहेका पशुपन्छीलाई चारो खुवाउँछन् । ‘यस्तो दैनिकी चल्न थालेको झण्डै ६ वर्ष भयो,’ अग्रवाल भन्छन्, ‘नियमित रुपमा देवघाटको बागेश्वरी क्षेत्रमा रहेका बाँदर, गाई, चराचुरुङ्गीहरुलाई दाना खुवाउँछु अनि कुकुरलाई बिस्कुट दिन्छु ।’

उनका अनुुसार त्यहाँ रहेका पशुपन्छीहरु बिहानैदेखि उनको प्रतीक्षामा बसिरहेका हुन्छन् । ‘बाँदर, गाई गोरु र परेवाहरु सडकतिर चियाएर बस्छन् । मैले गाडीको हर्न बजाउनेवित्तिकै उनीहरु म भएतिर आएर झुम्मिन्छन् । चराका माउहरुले भोकाएका बच्चालाई आहारा खोजेर ल्याउँदा खुसी भएजस्तै, उनीहरू खुसी हुन्छन्, तछाडमछाड गरेर भोक मेटाउने प्रयास गर्छन् । परेवाहरू आएर काँधमै बस्छन्,’ यसले मलाई आनन्द अनुभूति हुन्छ ।

हरेक दिन बिहान ७ बजेदेखि ८ः३० बजेसम्म परेवा, बाँदर र गाईहरु उनले खानेकुरा ल्याउने आशामा हुन्छन् । बलियाहरुले निर्धाहरुलाई धपाउने, लखेट्ने गर्ने भएकाले सबैलाई मिल्ने गरी बाँड्ने गरेको चन्दन बताउँछन् । उनी बागेश्वरीदेखि देवघाट क्षेत्रसम्म ठाउँ–ठाउँमा रोकिएर दाना तथा खानेकुराहरु बाँडछन् । ‘कुनै कारणले म जान ढिला भयो भने उनीहरु आ–आफ्नो बाटोतिर लागिसकेको पनि पाउँछु’ उनी भन्छन् ‘यो मेरो नियमित दैनिक नै बनिसक्यो, म एकदिन यहाँ आइन भने पनि दिनभरी मन निकै नरमाइलो लाग्छ, मलाई ती अवोध जनावरहरुले पर्खिरहेका होलान् जस्तो लाग्छ ।’

‘जनावर भनेर मात्रै हुँदो रहेनछ, उनीहरुको सेन्स वडा गज्जबको हुँदो रहेछ’ चन्दन भन्छन् ‘मलाई उनीहरुसँग रमाउन पाउँदा सारा तनाव भुल्छु, दिनभरी नै खुसी हुन्छु ।’

उनले महिनामा २० देखि २५ हजार रुपैयाँसम्मको चना, गहुँ, मकै, केराउसहितको दाना खुवाउने गरेको बताए । दैनिक २० किलोभन्दा बढी मिक्स दाना बनाएर लैजाने गरेको उनी सुनाउँछन् । उनले आफ्नो व्यक्तिगत खर्चमा नै यो सबैथोक गरिरहेको बताए ।

उनी भन्छन् ‘मलाई त यो लतजस्तो भैसकेको छ, घर परिवारले पनि सम्झाउने गर्नुहुन्छ, म नारायणगढमा नभएको अवस्था बाहेक हरेक दिन जान्छु, आफू बाहिर जाँदा भाइलाई भन्छु, तर उनीहरुलाई भोकै राख्दिनँ ।’

उनले देवघाट क्षेत्रमा खानेकुरा बाँड्दा केही व्यक्तिहरुबाट अवरोधसमेत भएको तीतो अनुभूति गरेका छन् । बाँदरहरुलाई खाना दिएर पल्काएको भनेर आफ्नो आलोचनासमेत हुने गरेको उनले सुनाए । उनको विचारमा भोकाएका बाँदरलाई खानेकुरा दियो भने उनीहरू मान्छेको घर बस्तीमा पस्दैनन्, दुःख पनि दिँदैनन् । तर, खाना खान पाएनन् भने मान्छेका घरमा आउने, कोपर्ने गर्छन् ।

बाँदरको जनसंख्या पहिलाभन्दा अहिले देवघाट क्षेत्रमा उल्लेख्य बढेको अनुभूति गरेका चन्दन, बाँदरहरुको उचित व्यवस्थापन कसरी हुन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको बताउँछन् । यहाँका बाँदरहरू मानव जातीमा आश्रित हुने गरेकाले तिनीहरुको उचित खानपान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बताए ।

पहिला–पहिला भक्तजन जाँदा हातबाट नै प्रसादहरु खोस्ने, झम्टिने बाँदरहरु हिजोआज भने त्यस्तो गरेको नपाएको उनले सुनाए । जंगलका बाँदरले खान पाएनन् भने उनीहरु स्वतः बजारका घरतिर जान्छन् । उनी भन्छन्, ‘बाँदरलाई नियमित तरिकाले खाने खानाको मात्र व्यवस्था भइदियो भने पनि कुनैपनि व्यक्तिलाई हानि गर्दैन ।’

onlinekhabar.com बाट

तपाईको प्रतिक्रिया