
खैरहनी । खैरहनी नगरपालिकाले दुई दिने मनोविमर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम आज सम्पन्न गरेको छ । तालिमबाट खैरहनी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र स्वाथ्य स्वयंसेविका समेत गरी १३५ जना दीक्षित भएका छन् ।
तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै नगर प्रमुख शशी कुमार खनियाले नगरपालिकाको कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउँदै नगरबासीको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न तनाव मुक्त भएर कार्य गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले यो तालिम तनावका कारणहरु पत्ता लगाएर समाधानका उपाय खोज्न उपलब्धिमूलक हुने विस्वास व्यक्त गर्नुभयो । नगर उपप्रमुख कविता उप्रेतीले सहभागीहरुलाई मनोसामाजिक समस्याको विषयमा जानकारी गराउने र कर्मचारीहरुलाई कार्यक्षेत्र तथा दैनिक जीवनमा आइपर्ने तनाव व्यवस्थापन गराउने उदेश्यले तालिमको आयोजना गरीएको बताउनु भयो ।
दुई दिनसम्म सत्र्चालन भएको तालिमको पहिलो दिन कार्यपालिकाका सदस्यहरु सहित नगरपालिकाका कर्मचारी, नगर क्षेत्र भित्रका सरकारी कार्यालयका प्रमुख, तथा नगरक्षेत्र भित्रका माध्यामिक विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको र दोस्रो दिन नगरसभाका सदस्यहरु र नगरपालिका भित्र कार्यरत स्वास्थ्यसेवा सेविकाहरु सहभागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले बताउनु भयो ।
नगरपालिकाको सभाहलमा सम्पन्न भएको तालिममा सहभागीहरुलाई खैरहनी नगरपालिका वडा नं १२ को वडा अध्यक्षले स्वागत गर्नु भएको थियो, तालिमको सहजीकरण मनोपरामर्शदाता विजयराज सिग्देलले गरेका थिए । सहजकर्ताले तालिममा तनावको आन्तरिक र बाह्रय कारणहरु, तनावको स्वरुप र तनाव व्यवस्थापनका उपायहरुको बारेमा सहभागीहरुलाई प्रस्तुति दिएका थिए ।