×

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं‍‍.१२  वसन्तचोक स्थित एड्भेञ्चर स्कुलमा अध्ययनरत विद्यार्थीहरुले मौलिक सीपमा आधारित रहेर दुना टपरी गाँस्न र बत्ती कात्न सिकेका छन्।

संस्कार सहितको व्यबहारिक शिक्षा भन्ने मान्यतामा आधारित रहेर विद्यालयले फरक फरक कार्यक्रम गर्दै आएकोमा यसपटक कक्षा २ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई कपासको बत्ती कात्न तथा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई दुना टपरी गाँस्न सिकाएको हो।

स्थानीय वसन्त टोल स्थित आमा समूहका ८ जना प्रशिक्षक महिलाहरुले दिएको तालिममा विद्यार्थीहरु निकै उत्साही देखिन्थे। विद्यालयका प्रिन्सिपल प्रेम शर्मा वस्यालले विद्यार्थीको उत्साह अनि अभिभावकको सद्भाव कायम गर्दै माटो सुहाउदो व्यवहारिक शिक्षा दिन सके सिकाई अझै प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो।

कार्यक्रम अवलोकन गर्दै वसन्त टोल विकास संस्थाका अध्यक्ष भिम गुरुङले स्कुलको पछिल्ला कार्यक्रमहरुले सकारात्मक प्रभाव परेको भन्दै शिक्षालाई जीवन र समुदायसंग जोड्नुपर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया