×

चितवन–निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी  भुपेन्द्र थापालाई स्वागत गरेको छ । संघले आज एक कार्यक्रमको आयोजना गरी स्वागत एवं अन्तक्र्रिया गरेको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी थापाले सबै ब्यवसायीसँगको सल्लाह सुझाब अनुसार नै चितवनका सबै कार्यहरू गरिने विश्वास दिलाउनु भयो । उहाँले व्यवसायी र प्रशासनको संयुक्त प्रयासले मात्रै समस्याको समाधान हुने भन्दै सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा उवासंघ चितवनका तृतीय उपाध्यक्ष एवं हार्डवेयर व्यवसायी सिरिष पन्तले घरभाडा, बैंक व्याज तथा सडक विस्तारमा भएको सुस्तताले व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । उहाँले भदौ महिनाभित्र पनि पुल्चोक नारायणगढ सडक निर्माण सम्पन्न नभए धेरै व्यवसायी पलायन हुने अवस्था आउन सक्ने भन्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल गर्न प्रजिअ थापालाई आग्रह गर्नुभयो ।

संघका अध्यक्ष हरिप्रसाद गैरेले संघ स्थापनाको उद्देश्य अनुरुप व्यवसायिक एकताद्वारा व्यवसाय प्रबद्र्धन र विस्तार गर्दै विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले भविष्यमा पनि समग्र चितवनको विकासमा उत्पादनमा जोडिने र उक्त कार्यमा सहयोगको अपेक्षा र विश्वास व्यक्त गर्नुभयो ।

पूर्व अध्यक्ष शंकर नेपालले संस्थाले गरेका महत्वपूर्ण कार्यहरुको विषयमा प्रकाश पार्नुभयो । पूर्व अध्यक्ष श्याम श्रेष्ठले राज्यका नियकाहरुले व्यवसायिक वातावरण बनाउन सहयोग गर्नुपर्ने माग गर्नुभयो । संघका उपाध्यक्ष शालिक दवाडीले सरकारी निकाय र निजी क्षेत्रको समन्वयबाट मात्र दिगो विकास हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया