×

चितवन–चितवनको माडी नगरपालिका–३, बघौडास्थित थारु साँस्कृतिक संग्राहलयमा लायन्स क्लव अफ नारायणगढ र लायन्स क्लव अफ नारायणगढ नारायणीले वृक्षरोपण गरेको छ ।लायन्स क्लव अफ नारायणगढ नारायणीको रजत वर्षको अवसरमा संग्राहलय परिसरमा फलफूलका विभिन्न बिरुवा रोपिएको हो ।

बुधबार एक कार्यक्रमकाबीच माडी नगरपालिकाकी प्रमुख ताराकाजी कुमारी महतोले वृक्षरोपण कार्यक्रमको उद्घाटन गरिन् । संग्राहलयका अध्यक्ष कृष्ण महतोलाई बिरुवा हस्तान्तरण गरेर सुरुवात गरिएको कार्यक्रममा नगर प्रमुख महतो आफैले वृक्षरोपण गरेकी थिइन् ।
सो क्रममा बोल्दै नगर प्रमुख महतोले माडीलाई सुन्दर र नमुना नगरपालिका बनाउन केन्द्रीत रहेको भन्दै लायन्ससंगको हातेमालोले थप सहयोग मिल्ने बताइन् ।

उनले उत्पादनमुलक वृक्षरोपणले संग्राहलयको आम्दानीको स्रोत समेत बन्ने भएकाले सामान्य केही काम गर्नका लागि कसैलाई गुहार माग्न नपर्ने अवस्था बन्नेमा विश्वास व्यक्त गरे । उनले स्थानीय महिलालाई सीपमुलक कार्यक्रमदेखि विभिन्न कार्यक्रमहरु गर्न माडीलाई छनोट गरेकोमा नारायणगढ लायन्सलाई धन्यवाद दिइन् ।

कार्यक्रममा बोल्दै लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर लायन दिनानाथ न्यौपानेले नारायणगढ लायन्स चितवनकै पुरानो क्लव भएकाले फरक–फरक खालका कार्यक्रम गर्दै जानु सकरात्मक पाटो रहेको बताए । विशेषगरि स्वर्गीय जीतबहादुर पिया भोकेशनेल ट्रेनिङ सेन्टर स्थापना गरेर सीपमुलक कार्यक्रमलाई प्राथमिकता दिएर काम गरेको भन्दै क्लवको प्रशंसा गरे । उनले आगामि दिनमा थप यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै स्थानीय सरकारलाई पनि सहकार्य गर्न अनुरोध गरे ।

यस्तै कार्यक्रमा बोल्दै माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले संग्राहलय परिसरमा उत्पादनमुलक वृक्षरोपण गरिएकोमा खुशी व्यक्त गरे । उनले संग्राहलय परिसरमै लायन्सले महिलाहरुका लागि सुरु गरेको तीन महिने सिलाईकटाई तालिमले स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउन महत्वपूर्ण योगदान दिने भन्दै यस्तै अन्य तालिमहरु प्रदान गर्न आग्रह गरे ।

लायन्सका पूर्व डिष्ट्रिक्ट गर्भनर लायन प्रभात कुमार जोशीले नारायणगढ लायन्सले सुरुवातदेखि नै समाजमा फरक खालका कार्यक्रमहरु गर्दै आइरहेकोले उत्पादनलाई समेत टेवा पु¥याउने गरि थालेको वृक्षरोपणले सकरात्मक सन्देश प्रवाह गर्ने बताए । उनले आगामि दिनमा समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

वृक्षरोपण कार्यक्रममा आँप, लिची, कटहर, एभोकाडोलगायतका विभिन्न उत्पादनमुलक फलफूलका ७९ वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक विवश पियाले जानकारी दिए । कार्यक्रममा लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष अञ्जु पियाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको समापन गर्दै लायन्स क्लव अफ नारायणगढका अध्यक्ष लायन शान्तकुमार पियाले उत्पादनलाई जोड दिन उत्पादनमुलक फलफूलका बिरुवा रोपिएको बताए ।

उनले आगामि दिनमा पनि यस खालको कार्यक्रम गर्ने प्रतिवद्धता जनाउँदै माडीमा विभिन्न क्षेत्रमा अझै धेरै सीपमुलक कार्यक्रमहरु समेत संचालन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा माडी वडा नं.३ र ६ का वडा अध्यक्ष, विभिन्न लायन्स प्रतिनिधि र स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । यस्तै क्लवले श्री राष्ट्रिय प्राथमिक विद्यालय शिखारीपुरलाई पनि केही मात्रामा फलफूलका बिरुवा उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया