×

भरतपुर। चितवन उद्योग संघले स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यही मिति २०८० साउन ०६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा “शनिबारे मेला आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मेलाबाट स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग मिल्ने र स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनहरुको स्टल रहने विज्ञप्तिमा उल्लेख छ ।

मेलामा ताजा फलफुल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, हस्तकलाका सामाग्रीहरु, अण्डा, माछा तथा गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र विभिन्न परिकारका खानाका स्टलहरु रहने छन् । मेलामा स्टल राख्न चाहनेहरुको लागि प्रति दिन प्रति स्टल रु १,००० सहभागिता शुल्क लाग्ने कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेला स्थल आसपासमा नीजि तथा सरकारी संस्थाहरुमा कार्यरत २० हजार भन्दा बढी जागिरे, स्थानीय टोल तथा छिमेकी पालिकाहरुका व्यक्तिहरु नै मेलाका मुख्य लक्षित ग्राहकका रुपमा रहनेछन् भने, मेलामा राखिने विशेष परिकार तथा उत्पादनहरु जिल्ला बाहिर पठाउनका लागि समेत बिक्री गरिने लक्ष्य लिइएको छ । उत्पादक र उपभोक्ताहरुलाई एउटै छानामुनी प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन १००० भन्दा धेरै स्थानिय खरिदकर्ताको उपस्थिति हुने अपेक्षा राखिएको छ ।

मेलामा अवलोकन गर्न आउने ग्राहकहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको मेलालाई  “Farm to Kitchen” अवधारणा अनुसार उत्पादक र उपभोक्ताहरुको माग बमोजिम आवश्यकता अनुसार परिस्कृत गर्दै नयाँ वस्तु तथा उत्पादनहरु सार्वजनिक गर्ने, खरिदकर्ता तथा विक्रेताको जमघट हुने र उद्यमीहरुको भेटघाट हुने उपयुक्त स्थलको रुपमा विकसित गरिने लक्ष्य लिइएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया